नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

२२औं वर्षमा दिव्य रोशनी साप्ताहिक, चार पत्रकार सम्मानित

धरान । कृयाशील पत्रकार महिलाको नेतृत्व गर्दै आएकी मनिता चाम्लिङको प्रकाशकत्व र सम्पादकत्वमा २२ वर्षदेखि धरानबाट निरन्तर प्रकाशित दिव्यरोशनी साप्ताहिकले स्थापना दिवसको अवसरमा पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका चार जनालाई सम्मान, पुरस्कृत र अभिनन्दन गरेको छ ।

सम्मानित पत्रकारहरूमा चिसेफायु अनलाइन मिडियाका सम्पादक निमा पोङ्स्युवा, पत्रकार सन्जु राई र ब्लाष्ट टाइम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मा  छन् । 

पत्रकार पोङ्स्युवा र राईलाई पत्रिकाकी सम्पादक/प्रकाशक मनिता चाम्लिङका बुवा क्विन गोर्खा इन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको 'उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान'  सहित जनही नगद ५ हजार ५ रुपैयाँद्वारा सम्मान गरिएको छ । यस्तै पत्रकार विश्वकर्मालाई सम्पादक मनिता चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापना गरिएको युवा पत्रकारिता सम्मानबाट ५ हजार ५ रुपैयाँ नगद राशिसहित सम्मान गरिएको छ ।

पुरस्कृत हुने पत्रकारमा कोलेन्युजडटकमका सञ्चालक रोहित कुलुङ छन् । उनलाई दिव्यरोशनी पत्रिकाकी सम्पादक/प्रकाशक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको 'सिर्जनशील पत्रकारिता पुरस्कार-२०८३' सहित नगद ५ हजार ५ रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै गतवर्ष थाँती रहेको 'सिर्जनशील पत्रकारिता पुरस्कार-२०८२' नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बोलाई नगद ५ हजार ५ रुपैयाँसहित हस्तान्तरण गरिएको छ । 

1000154684-1779464673.jpg
पत्रिकाको २२ औं स्थापना दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका पब्लिक हाइस्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झालाई दोसल्ला ओढाई अभिनन्दन गरिएको पत्रिकाका प्रबन्ध निर्देशक सागर सिंजालीले जानकारी दिए ।

धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित स्थापना दिवसमा बोल्दै अभिनन्दित व्यक्तित्व डा. इन्द्रमोहन झाले महिला नेतृत्वमा सञ्चालित दिव्यरोशनी साप्ताहिकले हरेक वर्ष सम्मान तथा पुरस्कार वितरण गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए । उनले राम्रो कामको सम्मानले समाजलाई शिक्षा र प्रेरणा दिने उल्लेख गरे । 

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख अइन्द्रविक्रम बेघाले पत्रकारहरूको कामको मूल्याङ्कन गर्दै सम्मान गर्नु अत्यन्त प्रशंसनीय रहेको बताए ।उनले महिला सम्पादकको नेतृत्वमा २२ वर्षसम्म मिडिया सञ्चालन गर्नु सामान्य कुरा नभएको उल्लेख गरे । दिव्यरोशनी साप्ताहिकले छापा माध्यमदेखि आधुनिक डिजिटल प्रविधिसम्म आफूलाई रूपान्तरण गर्दै अघि बढेको उदाहरणीय कार्य गरेको बेघाले बताए । उनले राज्य, समाज र सुशासनका पक्षमा कलम चलाउँदै निरन्तर अघि बढ्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सम्पादक/ प्रकाशक चाम्लिङले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन निकै संघर्षपूर्ण समयबाट गुज्रिनुपरेको उल्लेख गरिन् । उनले छापा पत्रिकाबाट सुरु भएको दिव्य रोशनी साप्ताहिक अहिले अनलाइन र युट्युब प्लेटफर्मसम्म विस्तार भएको बताउँदै बदलिँदो प्रविधिसँगै आफूहरूले पनि निरन्तर रूपमा मिडियालाई समयानुकूल बनाउँदै लगेको धारणा राखिन् ।

उनले कठिन परिस्थितिमा पनि आफ्नो कलम नडगमगाई निरन्तरता दिँदा सफलता हासिल गर्न सकिने बताइन् । 'कछुवाको गतिमा भए पनि निरन्तर अघि बढ्दा लक्ष्यमा पुग्न सकिन्छ' भन्ने अनुभव सुनाइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङ, महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, धरान महिला सञ्जालकी अध्यक्षलगायत विभिन्न सञ्चारकर्मी तथा व्यक्तित्वहरूले पत्रिकाको थप सफलताको शुभकामना दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार