नेभिगेशन
समाचार

सिंचाइ आयोजनाले सीमाङ्कनको नाममा जनताको घर भत्कायो, आज फेरि जनतालाई त्रसित बनाउँदैछ : प्रदेश सांसद तामाङ 

धरान । कोशी प्रदेश सभाको सोमबार बसेको बैठकमा सुनसरी मोरङ सिचाइ आयोजनाले जग्गा सुरक्षित गर्ने वहानामा जनतालाई मानसिक दबाब दिएको विषय उठेको छ । 

कोशी प्रदेश सभा सदस्य ममता तामाङले सोमबार  शून्य समयमा बोल्दै सुनसरी मोरङ सिचाइ आयोजनाले जग्गाको सीमाङ्कनको नाममा जनताको घर भत्काएको र पुन: सूचना निकालेर जनतालाई त्रसित बनाउने काम गरेको बताएकी छन् । 

सदनमा बोल्दै उनले सिंचाइको नाममा स्थानीय त्रसित भएको उल्लेख गरिन् । झुम्कादेखि चतरासम्मका स्थानीयले ठूलो पीडा र अन्योल भोगिरहेको सांसद तामाङले बताइन् । 'त्यहाँका स्थानीय जनता लामो समयदेखि सिचाइको नाममा त्रासमा रहेका छन्, सिचाइले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै पटकपटक नोटिस निकाल्ने जग्गा खाली गर्न लगाउने र जनतालाई मानसिक दबाद दिने काम गर्दै आएको छ,' सदनमा सांसद तामाङले भनिन्, 'केही वर्षअघि पनि सिचाइले आफ्नो जग्गाको सीमाङ्कन गर्ने नाममा स्थानीय जनताको घर टहरा भत्काउने काम गरेको थियो, त्यतिबेला घर गुमाएर विस्थापित भएका परिवारले दु:ख भोग्नु परेको थियो, त्यो त्रास र पीडा अझै पनि जनताको मनबाट मेटिएको छैन ।'

सिचाइले पुन: त्यस्तै प्रकारको सूचना निकालेर जनतालाई त्रसित बनाएको सांसद तामाङले बताइन् ।  उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई उठिबास लगाउने काम कुनै पनि हिसाबले उचित नभएको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार