नेभिगेशन
स्वास्थ्य/जीवनशैली

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा ३२ जनाबीच कडा प्रतिस्पर्धा

सुनसरी । नेपालका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई महिनादेखि रिक्त रहेको उपकुलपति पदका लागि ३२ जना चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चरणमा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पदका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ।

सरकारले गठन गरेको छनोट समितिले छनोट गरेका उम्मेदवारमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका उम्मेदवारले असार १६ गते (आज) अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्नुपर्नेछ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उम्मेदवारले भने असार १७ गते मन्त्रालयमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई महिनादेखि रिक्त रहेका उपकुलपति पदका लागि दरखास्त दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो। विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्ततः ६ जना मात्र उपकुलपति नियुक्त हुनेछन्।

प्रत्येक प्रतिष्ठानका लागि मन्त्रालयले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि सात–सात जनाको नाम सार्वजनिक गर्दै तालिका समेत सार्वजनिक गरेको छ। सार्वजनिक नामावलीअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि गुरुप्रसाद खनाल, गौरीशंकर शाह, पशुपति चौधरी, प्रह्लाद कार्की, राजेश नेपाल, शिवेन्द्र झा र स्मृति कार्की रहेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अजयकुमार मिश्र, सूर्यमान मेन्याङ्बो, अनुज पौडेल, आलोक आत्रेय, गौरीशंकर शाह, नीलराज शर्मा र पशुपति चौधरी रहेका छन्। त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अमर नागिला, नारायणसिंह गुरुङ, प्रदीप घिमिरे शर्मा, विजय अर्याल, विधाननिधि पौडेल, सरस्वती न्यौपाने र सुजनबाबु मरहट्ठा रहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अजयकुमार मिश्र, ऋषिकान्त अर्याल, नीलमकुमार खड्का, विधाननिधि पौडेल, शेषानन्द संजेल र सूर्यमान मेन्याङ्बो रहेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका लागि गेहनाथ बराल, महेन्द्रप्रसाद भट्ट, राजीवकुमार झा, राजेश नेपाल, रुद्रप्रसाद मरासिनी, विवेक आचार्य र सुरज बज्राचार्य रहेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि गेहनाथ बराल, नवीसमान सिंह प्रधान, प्रह्लाद कार्की, विष्णुप्रसाद शर्मा, रविन्द्रमान श्रेष्ठ, विवेक आचार्य र सृजना श्रेष्ठ रहेका छन्।

१० उम्मेदवार दुई–दुई प्रतिष्ठानका लागि छनोट

स्वास्थ्य मन्त्रालयको उम्मेदवार छनोट समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि ४२ जना उम्मेदवार छनोट गरेको देखिए पनि १० जनाले एकभन्दा बढी प्रतिष्ठानमा उम्मेदवारी दिएका कारण वास्तविक प्रतिस्पर्धा ३२ जनाबीच मात्र हुने भएको छ।

एकैसाथ दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा छनोट भएकामध्ये गेहनाथ बरालको नाम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान दुवैमा परेको छ। त्यसैगरी, प्रह्लाद कार्कीको नाम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैमा परेको छ।

विवेक आचार्यको नाम पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान दुवैमा समावेश छ। राजेश नेपालको नाम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परेको छ।

सुरज बज्राचार्य पहिलो चरणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १६ जनाको सूचीमा परे पनि दोस्रो चरणमा भने उनको नाम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा मात्र परेको छ।
अजयकुमार मिश्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैका लागि छनोट भएका छन्। विजय अर्याल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैका लागि छनोट भएका छन्। 

त्यसैगरी, विधाननिधि पौडेल पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैमा परेका छन्। सूर्यमान मेन्याङ्बो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैमा छन्। पशुपति चौधरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैका लागि छनोट भएका छन्।

मन्त्रालयले प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कनपछि अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि उम्मेदवार छनोट गरिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप स्वास्थ्य/जीवनशैली