नेभिगेशन
Dashain Banner
Dashain Banner
स्वास्थ्य/जीवनशैली

बीपी प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएकी छन् । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा डा. कार्कीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्।

डा. कार्कीको नियुक्तिसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ। उपकुलपति पदका लागि प्रतिष्ठानमा १४ जना चिकित्सक तथा प्राध्यापकहरूले आवेदन दिएका थिए। आवेदन दिनेहरूमा अचला ठाकुर, गुरुप्रसाद खनाल, गौरीशंकर साह, दिलीप ठाकुर, पशुपति चौधरी, प्रह्लाद कार्की, विक्रमप्रसाद श्रेष्ठ, रविन मास्के, राजु रिजाल, राजेश नेपाल, शिवेन्द्र झा, सुनिल ढुङ्गेल, सुरज बज्राचार्य र स्मृति कार्की रहेका थिए।

सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने प्रक्रिया अघि बढाउन छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बनाएर प्रक्रिया अगाडि बढाएको थियो। सोहीअनुसार जेठ ४ गते सूचना प्रकाशन गर्दै आवेदन आह्वान गरिएको थियो।

उपकुलपति पदका लागि ६ प्रतिष्ठानमा गरी ११३ जनाले आवेदन दिएका थिए। प्राप्त आवेदनको मूल्यांकनपछि समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि प्रत्येक प्रतिष्ठानबाट ७ जनाका दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो।

बीपी प्रतिष्ठानसँगै अन्य पाँच स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङ्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।

बीपी प्रतिष्ठानमा लामो समयदेखि नेतृत्व चयनलाई चासोका साथ हेरिँदै आएको थियो। यस्तो अवस्थामा डा. स्मृति कार्कीको नियुक्तिले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली