नेभिगेशन
स्वास्थ्य/जीवनशैली

बीपी प्रतिष्ठान स्थापनाको ३३ वर्षपछि महिला उपकुलपति, डिजिटलाइजेसन र एमआरआई सेवा प्राथमिकता

सुनसरी । आर्थिक संकट, सेवा विस्तार र व्यवस्थापकीय चुनौतीसँग जुधिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ । 

नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीले आर्थिक सुधार, अस्पतालको डिजिटलाइजेसन र एमआरआई सेवा सञ्चालनलाई आफ्नो पहिलो कार्यसूची बनाउने घोषणा गरेकी छन् ।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११(ख)(१) बमोजिम प्रा.डा. स्मृति कार्कीलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। उनले सोमबार पदभार ग्रहण गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असार २५ गतेको पत्रअनुसार नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्दै प्रतिष्ठानको साख उकास्न सुशासन, पारदर्शिता, अस्पतालको डिजिटलाइजेसन, एमआरआई (मेग्नेटिक रेजोनान्स इमेजिङ) सेवा सञ्चालन, गुणस्तरीय स्वास्थ्य सेवा र आर्थिक सुधारलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताइन्।

प्रतिष्ठान परिवारले आयोजना गरेको स्वागत कार्यक्रममा उनले भनिन्, "बीपी प्रतिष्ठान सुधारका लागि आर्थिक सुधार, डिजिटलाइजेसन र एमआरआई सेवा मेरो पहिलो प्राथमिकतामा छन्।"

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हालैको अनुगमनपछि एमआरआई सेवा सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। साथै, करिब ९० प्रतिशत निर्माण सम्पन्न भएको ४ सय शय्याको मातृ तथा शिशु केन्द्र (एमसीएच) भवनको निर्माण कार्यलाई पनि शीघ्र सम्पन्न गरिने बताइन्।
प्रतिष्ठानमा २४ वर्षदेखि अध्ययन, अध्यापन र सेवामा संलग्न रहेको उल्लेख गर्दै उनले आफूले संस्थाको चुनौती र सम्भावनालाई नजिकबाट बुझेको बताइन्।

उनले भनिन्, "यही संस्थामा अध्ययन, अध्यापन र सेवा गर्दाको अनुभवले प्रतिष्ठानका चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर दिएको छ। तिनै अनुभवका आधारमा स्वच्छ, पारदर्शी र सकारात्मक कार्यसंस्कृति विकास गर्दै प्रतिष्ठानलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु।"

कार्कीले अस्पताललाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजान भारत सरकारसँग भएको समझदारीपत्र (एमओयू) कार्यान्वयनलाई पनि प्राथमिकतामा राखिने बताइन्। प्रधानमन्त्रीसँगको भेटमा नेपाल–भारतबीच भएको उक्त समझदारी कार्यान्वयनका विषयमा छलफल भएको उनले जानकारी दिइन्।

पदभार ग्रहण गरेकै दिन उनले अस्पताल तथा आर्थिक प्रशासनका जिम्मेवार अधिकारीसँग छलफल गर्दै प्रतिष्ठानको समग्र अवस्था अध्ययन गरी त्यसका आधारमा कार्ययोजना तयार गरिने बताइन्।

उनका अनुसार नेपाल सरकारबाट केही वित्तीय दायित्व तथा रकम प्राप्त भइसकेकाले विगतको तुलनामा प्रतिष्ठानको आर्थिक अवस्था सुधारोन्मुख छ। बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आधारभूत पूर्वाधार सुदृढ पारिने, फार्मेसीमा आवश्यक औषधि तथा अस्पतालका लागि आवश्यक मेडिकल उपकरणको उपलब्धता सुनिश्चित गरिने उनले बताइन्।

एमबिबिएस अध्ययनका लागि १५० सिट सञ्चालन गर्न आवश्यक पूर्वाधार रहे पनि छात्रावासलगायत सबै पक्षको विस्तृत अध्ययनपछि मात्र प्रक्रिया अघि बढाइने उनको भनाइ छ। हाल चिकित्सा शिक्षा आयोगले सिट संख्या घटाएपछि प्रतिष्ठानमा एमबिबिएसका १०० सिट मात्र सञ्चालनमा छन्।

प्रा.डा. कार्कीले सन् २००० मा बंगलादेशको ढाकास्थित जैनुल हक सिक्दार विमेन्स मेडिकल कलेजबाट एमबिबिएस तथा सन् २००५ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्याथोलोजीमा स्नातकोत्तर अध्ययन पूरा गरेकी हुन्। त्यसयता उनी निरन्तर प्रतिष्ठानमै कार्यरत छिन्। उपकुलपति नियुक्त हुनुअघि उनी कार्यकारिणी समिति सदस्य, विभिन्न महत्त्वपूर्ण समितिकी अध्यक्ष तथा करिब एक दशकभन्दा बढी समय प्याथोलोजी विभाग प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली