नेभिगेशन
स्वास्थ्य/जीवनशैली

बीपी प्रतिष्ठान सुधारको प्रयास: अक्सिजन प्लान्टदेखि एमआरआई खरिदसम्मका काम अन्तिम चरणमा

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका सेवा व्यवस्थापनका चुनौती समाधान गर्दै स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सेवामैत्री बनाउने उद्देश्यका साथ विभिन्न सुधारात्मक काम तीव्र गतिमा अघि बढाइएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक तथा पूर्व निमित्त कार्यालय प्रमुख डा. इन्द्र लिम्बूले पत्रकार भेटघाटमार्फत अक्सिजन प्लान्ट पुनः सञ्चालन, एमआरआई मेसिन खरिद प्रक्रिया, एमसीएच भवन सञ्चालन, स्वास्थ्य बीमा व्यवस्थापन, रिफरल प्रणाली तथा अत्याधुनिक सीबीसीटी सेवा विस्तारलगायतका विषयमा भइरहेको प्रगति सार्वजनिक गरेका हुन् । 

पत्रकार सम्मेलनमा डा. लिम्बूले प्रतिष्ठानमा स्वास्थ्य सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन स्वास्थ्य बीमा तथा अन्य सेवा सम्बन्धी ओपीडी दर्ता र बिलिङ प्रणाली पुनर्संरचना गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमाअन्तर्गतका ओपीडी दर्ता र बिलिङसम्बन्धी सम्पूर्ण सेवा जीओपीडी भवनको भुइँतलाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सेवाग्राहीको सहजताका लागि बीमा ओपीडी दर्ता काउन्टर चार वटाबाट बढाएर छ वटा र बिलिङ काउन्टर पनि विस्तार गरिएको छ । त्यस्तै, स्वास्थ्य बीमाबाहेकका जनरल ओपीडी, पेइङ तथा इएचएस सेवाका दर्ता र बिलिङ कार्यहरू एसओपीडी भवनको भुइँतलाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ, जहाँ दर्ता र बिलिङ काउन्टरको संख्या पनि उल्लेखनीय रूपमा बढाइएको छ ।

प्रतिष्ठानले बिरामी रेफरल प्रणालीलाई पनि प्रभावकारी बनाउन अस्पतालस्तरीय रेफरल समन्वय समिति गठन गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘बिरामी रेफरल राष्ट्रिय निर्देशिका–२०७९’ अनुरूप गठित समितिले बिरामीलाई आवश्यकताअनुसार उपयुक्त स्वास्थ्य संस्थामा समयमै पठाउने, अनावश्यक रेफरल न्यूनीकरण गर्ने, सेवा प्रवाहमा समन्वय र सहजता बढाउने तथा उपचारको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य राखेको डा. लिम्बूले बताए ।

अक्सिजन प्लान्ट सञ्चालनका विषयमा बोल्दै उनले प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टको उत्पादन क्षमता प्रतिमिनेट २०० लिटर रहेको जानकारी दिए । ट्राइडेन्ट कम्पनीमार्फत प्लान्ट पुनः सञ्चालनका लागि आवश्यक मर्मत कार्य तीव्र गतिमा भइरहेको र आवश्यक परे नयाँ टेन्डर प्रक्रिया अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए । यस्तै, अक्सिजन डाइग्नो–केम सप्लायरसँग बाँकी रहेको मुद्दाका सम्बन्धमा अदालतले दिएको आदेशअनुसार मध्यस्थता (आर्बिट्रेसन) प्रक्रिया अघि बढाइएको र कम्पनीलाई आवश्यक पत्राचार गरिएको उनले बताए ।

एमआरआई मेसिन खरिद प्रक्रिया पनि अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । रेडियोलोजी विभागले तयार पारेको आवश्यकता र प्राविधिक विवरणका आधारमा विभिन्न उत्पादक कम्पनीसँग प्रारम्भिक छलफल सम्पन्न गरिएको, सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिक र प्रतिष्ठानको वेबसाइटमार्फत सूचना प्रकाशित गरिएको तथा इच्छुक कम्पनीहरूले आफ्ना उपकरणको कन्फिगरेसन, प्राविधिक क्षमता, बजेट र वार्षिक खर्चसम्बन्धी प्रस्तुति दिइसकेको डा. लिम्बूले बताए । 'प्राप्त सुझावका आधारमा अन्तिम स्पेसिफिकेसन तयार गरी खरिद प्रक्रिया टुंगो लगाइने छ ।' उनले भने ।

एमसीएच (मातृ तथा शिशु) भवन सञ्चालनका सम्बन्धमा नेपाल सरकारबाट विशेष चासो व्यक्त भएको उल्लेख गर्दै उनले भवन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र संरचनागत तयारी भइरहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनशक्ति थप गर्न निर्देशन प्राप्त भएको र निकट भविष्यमै भवन सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको उनको भनाइ थियो ।

यसैबीच, प्रतिष्ठानले दन्त सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अत्याधुनिक कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी) मेसिन सञ्चालनमा ल्याएको जनाएको छ । केयरस्ट्रिम कम्पनीको सीएस ९६०० फुल एफओभी प्रविधियुक्त उक्त उपकरणबाट कम विकिरणमा उच्च गुणस्तरको थ्रीडी तस्बिर प्राप्त हुने, कृत्रिम बुद्धिमत्तामा आधारित विश्लेषण प्रणालीको सहयोग उपलब्ध हुने तथा दाँत, नरम तन्तु, स्नायु प्रणाली र जबडाको हड्डीको सूक्ष्म अध्ययन गर्न सहज हुने प्रतिष्ठानले जनाएको छ ।

पत्रकार सम्मेलनमा डा. लिम्बूले प्रतिष्ठानलाई सेवामुखी, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्‍याए । उनले सुरु गरिएका सुधारका कार्यक्रमले निकट भविष्यमा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने विश्वास व्यक्त गरे । आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले प्रेस नोट प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप स्वास्थ्य/जीवनशैली