नेभिगेशन
समाचार

म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेपछि ‘रिजालको भान्सा’ लाई २ लाख ९५ हजार जरिवाना

विराटनगर । उपभोक्ताको सुरक्षामाथि गम्भीर लापरबाही गर्दै म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बिक्रीका लागि राखेको पाइएपछि मोरङको एक ग्यास उद्योग कारबाहीमा परेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो।

साउन २७ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त बजार अनुगमन टोलीले उद्योगको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उद्योगले मानवीय जोखिम निम्त्याउने गरी म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बिक्रीका लागि राखेको पाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिन्डरको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा निर्धारित तौलभन्दा २४० ग्राम कम ग्यास पाइएको थियो। परीक्षण गरिएका सिलिन्डरमध्ये दुईवटाको म्याद गुज्रिसकेको भए पनि ती सिलिन्डरमा ग्यास भरेर सिल लगाई बिक्रीका लागि तयारी अवस्थामा राखिएको भेटिएको थियो।

म्याद गुज्रेका ग्यास सिलिन्डर प्रयोग गर्दा दुर्घटना तथा विस्फोटको जोखिम रहने भएकाले उपभोक्ताको सुरक्षामाथि गम्भीर लापरबाही गरेको ठहर गर्दै प्रशासनले उपभोक्ता संरक्षण ऐनबमोजिम उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो।

म्याद गुज्रेका दुईवटै सिलिन्डरको सिल तोडेर ग्यास खाली गरी नष्ट गरिएको प्रशासनले जनाएको छ।

अनुगमनमा असहयोग गर्ने पसललाई पनि जरिवाना
यसैबीच, अनुगमनकै क्रममा विराटनगर महानगरपालिका–३ स्थित कञ्चनेश्वर ग्यास पसललाई पनि जरिवाना गरिएको छ।


अनुगमन टोली पुग्दा जाँचबुझ तथा निरीक्षण कार्यमा असहयोग गरेको भन्दै उक्त पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

साउन २७ गते गरिएको आकस्मिक अनुगमनले ग्यास उद्योग तथा विक्रेताबाट हुने सुरक्षा मापदण्ड र नापतौलसम्बन्धी लापरबाहीलाई समेत उजागर गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ताको सुरक्षामाथि असर पार्ने तथा गैरकानुनी गतिविधि रोक्न बजार अनुगमनलाई थप तीव्र बनाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार