नेभिगेशन
स्वास्थ्य/जीवनशैली

धरानमा हस्पिस कार्यशाला, विष्णुपादुकाको भञ्ज्याङमा स्थानीयले दिए पाँच कट्ठा जग्गा

धरान । निको नहुने दीर्घरोगका कारण जीवनको अन्तिम अवस्थामा पुगेका बिरामीलाई अस्पतालमा भर्ना गर्नुभन्दा घरमै पुगेर पीडा र व्यथा कम गर्ने उद्देश्यले धरानमा पाँचदिने ‘एकीकृत प्रशामक तथा हस्पिस सेवा कार्यशाला’ सम्पन्न भएको छ ।

नेपाल हस्पिस केयर सेन्टर धरानको आयोजनामा सञ्चालित कार्यशालामा कोशी प्रदेशका १४ जिल्लाका १६ अस्पतालमा कार्यरत ६५ जना चिकित्सक तथा नर्स सहभागी थिए । कार्यशालाको समापन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्कीले गरेकी थिइन् ।

कार्यशालामा क्यान्सर, कलेजो, मिर्गौला, मुटु, मधुमेह, दमलगायत दीर्घरोगका कारण उपचार सम्भव नभएको अवस्थामा पुगेका बिरामीको पीडा, व्यथा र अन्य समस्या कम गर्न अपनाइने प्रशामक तथा हस्पिस सेवाका नवीन विधि र चिकित्सा पद्धतिबारे प्रशिक्षण दिइएको थियो ।

वीपी प्रतिष्ठानको अङ्कोलोजी युनिटकी एसोसिएट प्रोफेसर डा. सोनिया दुलालका अनुसार उपचार सम्भव नभएका दीर्घरोगीलाई लामो समय अस्पतालमा भर्ना गरेर राख्नुभन्दा घरमै पुगेर आवश्यक सेवा दिन हस्पिस सेवाको विस्तार आवश्यक छ ।

‘निको नहुने दीर्घरोगका कारण थलिएका बिरामीलाई ठूला अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव हुँदैन । त्यसैले हस्पिस सेवामा आबद्ध चिकित्सक र नर्सले गाउँ–टोल तथा घरघरमै पुगेर सेवा दिन सकून् भन्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको हो,’ उनले भनिन् ।

उनका अनुसार पछिल्लो दुई वर्षमा वीपी प्रतिष्ठानमा क्यान्सरको अन्तिम अवस्थामा पुगेपछि उपचारका लागि सम्पर्कमा आएका बिरामीको संख्या मात्रै करिब दुई सय पुगेको छ । अन्य दीर्घरोगका कारण थलिएका बिरामीको संख्या पनि ठूलो रहेको उनले बताइन् ।

1000228731-1787039026.jpg
‘अस्पतालमा भर्ना गर्नुभन्दा बाँचुञ्जेल उनीहरूको पीडा र व्यथा कम गराउँदै हस्पिस सेवा दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।
डा. दुलालले हस्पिस सेवाको विस्तारका लागि कोशी प्रदेशलाई पाइलट परियोजनाका रूपमा अघि बढाउँदै वीपी प्रतिष्ठानलाई ‘हब’ र प्रदेशका विभिन्न जिल्लालाई ‘स्पोक’का रूपमा विकास गर्ने योजना रहेको बताइन् ।

उनका अनुसार कार्यशालापछि वीपी प्रतिष्ठानले विभिन्न संस्थाका चिकित्सक तथा नर्सलाई समेटेर स्वयंसेवक टोली गठन गर्नेछ । उक्त टोलीमा धरानको ब्रिटिश गोर्खा वेलफेयर, भारतीय पेन्सन भुक्तानी कार्यालय, धरान उपमहानगरपालिका तथा जिल्ला अस्पतालका चिकित्सक र नर्सलाई समेत समेटिनेछ ।

‘स्वयंसेवक टोलीले हस्पिस सेवा आवश्यक पर्ने गाउँ–टोल तथा घरमा पुगेर बिरामीको अवस्था मूल्याङ्कन गरी आवश्यक सेवा दिनेछ,’ उनले भनिन् ।

नेपालमा दीर्घरोगीका लागि हस्पिस सेवाको अवधारणा विकासमा अग्रणी मानिएका नेपाल हस्पिस केयर सेन्टरका बोर्ड अध्यक्ष डा. विष्णुदत्त पौडेलले घरमै पुगेर सेवा दिने चिकित्सक तथा नर्सले बिरामीबाट कुनै शुल्क नलिने बताए ।

‘दीर्घरोगले थलिएका बिरामी जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको पीडा र व्यथा कम गर्नु हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले बिरामीबाट कुनै शुल्क लिने नीति छैन,’ उनले भने ।

यसैबीच, डा. दुलालको पहलमा पूर्वी नेपालमा हस्पिस सेन्टर स्थापना गर्न धरान–२० विष्णुपादुकाको भञ्ज्याङमा स्थानीय समुदायले पाँच कट्ठा जग्गा उपलब्ध गराएको छ ।

उक्त जग्गामा कोशी प्रदेशसँगै मधेश प्रदेशका दीर्घरोगीलाई समेत सेवा दिन सक्ने गरी हस्पिस सेन्टरको भौतिक पूर्वाधार निर्माणको तयारी भइरहेको जनाइएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली