नेभिगेशन
समाचार

ठूलो तयारीबीच सशस्त्रको छापा, भेटियो डेढ-दुई लाखको लत्ता

विराटनगर । तस्करीको ठूलो परिमाणको सामान भण्डारण गरिएको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सशस्त्र प्रहरीले विराटनगर–१४ जतुवामा छापा मारे पनि अपेक्षाकृत न्यून मात्रामा लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल मोरङले बुधबार बिहान विशेष सूचनाका आधारमा सुरेश यादवको घर तथा गोदाममा छापा मारेको हो । घर तथा गोदामलाई घेरा हालेर खानतलासी गर्दा केही बोरा र झोलामा राखिएको लत्ताकपडा मात्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद लत्ताकपडाको अनुमानित मूल्य करिब १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म रहेको छ ।

‘हामीले जस्तो सोचेका थियौँ, त्यस्तो रहेनछ,’ भण्डारीले भने, ‘सूचना ठूलो थियो, तर सामान सोचेभन्दा निकै कम भेटियो।’

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने उद्देश्यले ठूलो जनशक्ति परिचालन गरी गरिएको कारबाहीमा न्यून परिमाणमा मात्रै सामान भेटिएपछि छापाको तयारी र उपलब्धिबीचको अन्तर देखिएको छ ।

सशस्त्र प्रहरीले बरामद लत्ताकपडा नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सामान विराटनगर भन्सार कार्यालय पठाउने तयारी गरिएको छ ।
भन्सार कार्यालयले मूल्यांकन गरेपछि मात्रै बरामद सामानको वास्तविक मूल्य यकिन हुने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार