नेभिगेशन
समाचार

पेट्रोल पम्पमा प्रशासनको अनुगमन तीव्र, नापतौलमा केन्द्रित जाँच

विराटनगर । विराटनगरको एक पेट्रोल पम्पमा तोकिएकोभन्दा कम परिमाणमा पेट्रोल बिक्री भएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले अन्य पेट्रोल पम्पमा समेत अनुगमन तीव्र पारेको छ ।

बुधबार प्रशासनको नेतृत्वमा नापतौल तथा गुणस्तरसम्बन्धी कर्मचारीसहितको टोलीले विराटनगरका विभिन्न पेट्रोल पम्पमा अनुगमन गरिरहेको छ । टोलीले पम्पमा प्रयोग भइरहेका नापतौल उपकरण, इन्धनको परिमाण र उपभोक्तालाई वितरण गर्ने प्रणालीको जाँच गरिरहेको हो ।

यसअघि सोमबार राति विराटनगर–शनिमन्दिर चोकस्थित पूर्वाञ्चल पेट्रोल पम्पमा पाँच लिटर पेट्रोल नाप्दा तोकिएको परिमाणभन्दा कम भेटिएको थियो । त्यसपछि प्रशासनले पम्प सिलबन्दी गरी घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

पूर्वाञ्चल पेट्रोल पम्पमा नापतौलमा कैफियत भेटिएपछि विराटनगरका अन्य पम्पको अवस्थासमेत जाँच गर्न अनुगमन बढाइएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा इन्धनको परिमाणसँगै नापतौल उपकरणको अवस्था र वितरण प्रणालीको परीक्षण गरिनेछ ।

प्रशासनले उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गर्ने वा नापतौलमा अनियमितता गर्ने पम्प सञ्चालकमाथि कानुनी कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार