नेभिगेशन
समाचार

सुनसरी मोरङ औद्योगिक करिडोरको विद्युत् समस्या समाधान गर्ने ऊर्जा मन्त्रीको प्रतिबद्धता

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउन प्रसारण प्रणाली सुधारदेखि आवश्यक पूर्वाधार निर्माणसम्मका कामलाई प्राथमिकता दिने बताएका छन् ।

शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षणका क्रममा उनले पूर्वी क्षेत्रमा देखिएका विद्युत् आपूर्ति र प्रसारणसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढाउनुका साथै देशभित्रै विद्युत् खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विद्युत् निर्यातसँगै आन्तरिक खपत वृद्धि गर्ने नीति आवश्यक छ ।

उनले इनरुवालाई पूर्वी नेपालको विद्युत् हबका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसका लागि प्रसारण प्रणाली र अन्य आवश्यक पूर्वाधारलाई व्यवस्थित बनाइने बताए ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगलाई भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको उनले बताए । औद्योगिक क्षेत्रको विद्युत् आवश्यकता पूरा गर्नुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र भारतमा विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गर्ने उनको भनाइ छ ।

भोक्राहा सबस्टेसनसँगै सुनसरी खोलाको स्थलगत निरीक्षण गरेका मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन र अन्य पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए ।

उनले विद्युत् क्षेत्रमा देखिएका समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्दै लैजाने बताए । आवश्यक रणनीति निर्माण र नीतिगत सुधार गर्नुपर्ने अवस्था देखिए त्यसतर्फसमेत पहल गर्ने उनको भनाइ थियो ।

यसैबीच मन्त्री श्रेष्ठले शनिबार वराहक्षेत्र मन्दिर परिसरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ सप्तकोशी नदीले गरेको कटानको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । त्यस्तै चतरास्थित चतरा जलविद्युत केन्द्रको पनि मन्त्री श्रेष्ठले अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार