नेभिगेशन
समाचार

वराहक्षेत्र मन्दिर कटानको क्षति रोक्न तत्काल काम थाल्ने ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको प्रतिबद्धता

वराहक्षेत्र (सुनसरी) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकन गरेका छन् । शनिबार मन्त्री श्रेष्ठले कोशी नदीले मन्दिर क्षेत्र कटान गरिरहेको गुनासोका आधारमा अवलोकन गरेका हुन् । 

अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले वराहक्षेत्र मन्दिरस्थित कोशी नदी कटान नियन्त्रण गर्नका लागि तत्कालका लागि केही राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले कोशी कटानको दीर्घकालीन नियन्त्रणका लागि डीपीआरअनुसार काम गर्ने बताएका छन् । उनले भने, 'क्षति रोक्न तत्काल काम गर्नेछौं ।' 

1000229888-1787404171.jpg
वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले मन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । ज्ञापनपत्रमा उनले नेपालको प्राचीन, धार्मिक तथा ऐतिहासिक सम्पदाको रुपमा रहेको वराहक्षेत्र धाम सप्तकोशी नदीको निरन्तर कटान र बाढीजन्य जोखिमका कारण गम्भीर सङ्कटमा परेको उल्लेख गरेका छन् । 

मन्दिर परिसर र आसपासका धार्मिक संरचनाहरूमा समेत नदीजन्य  क्षतिको जोखिम बढ्दै गएकाले दिगो तटबम्धन तथा वैज्ञानिक नदी नियन्त्रण कार्य तत्काल आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ । 

यस्तै चतरा हुँदै वराहक्षेत्र मन्दिर पुग्ने सडक साँघुरो र बर्खामा पहिरोको कारण निरन्तर अवरोध हुने भएकाले तीर्थयात्रीलाई प्रत्यक्ष असर परेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा धार्मिक क्षेत्रको संरक्षण र स्थानीय जनजीविकामा परेको समस्यालाई राष्ट्रिय प्राथमिकताका रुपमा लिन आग्रह गरिएको छ । 

1000229889-1787404212.jpg
धर्तीको पहिलो तीर्थस्थलका रुपमा रहेको वराहक्षेत्र धामलाई संरक्षण गर्न पार्टीका तर्फबाट पहल भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानका सभापति सुमन श्रेष्ठले बताए । उनका अनुसार सांसद सिर्जना श्रेष्ठको पहलमा वराहक्षेत्रको नदी नियन्त्रण, सडक स्तरोन्नतिलगायतका काम अगाडि बढेको छ ।

वराहक्षेत्र मन्दिर अवलोकन गर्नु अघि मन्त्री श्रेष्ठले चतरा जलविद्युत केन्द्र र सुनसरी मोरङ सिचाइ आयोजनाको न्युइन्टेकको समेत स्थलगत अनुगमन गरेका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार