नेभिगेशन
स्वास्थ्य/जीवनशैली

औषधि व्यवसायीद्वारा पुनः आन्दोलनको घोषणा, झापा, मोरङ र सुनसरीका व्यवसायी एकजुट

केन्द्रीय समितिको कार्यशैलीप्रति औषधि व्यवसायीको असन्तुष्टि

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाको आयोजनामा झापा, मोरङ र सुनसरीका औषधि व्यवसायीहरूको संयुक्त भेला मोरङको रमितेमा सम्पन्न भएको छ । भेलाले व्यवसायीका हकहित र विद्यमान समस्या समाधानका लागि दुईबुँदे निर्णय गर्दै पुनः आन्दोलनमा जाने घोषणा गरेको छ ।

भेलाले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ३ र ५ सँग सम्बन्धित विषयलाई मुख्य मुद्दा बनाएर आन्दोलन अघि बढाउने निर्णय गरेको हो । यसअघि सञ्चालन गरिएको आन्दोलनलाई केन्द्रीय कार्यसमितिले निष्कर्षमा नपुर्‍याई बीचमै रोकेको भन्दै तीनवटै जिल्लाका व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले केन्द्रीय समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै आन्दोलनलाई पुनः सशक्त बनाइने बताए ।

‘व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकिएको महसुस गर्दै हामीले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘हाम्रो व्यवसाय धराशायी हुँदै गएको छ । राज्यले हाम्रा गुनासा नसुनेमा हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।’

1000229921-1787405714.jpg
भेलाले संघको लोगो प्रयोगका विषयमा पनि निर्णय गरेको छ । संघमा आबद्ध नभएका तथा सदस्यता नलिएका व्यवसायीले समेत संघको लोगो प्रयोग गरिरहेको पाइएकाले अब सदस्यता लिएका व्यवसायीले मात्र लोगो प्रयोग गर्न पाउने व्यवस्था मिलाइने अध्यक्ष ढकालले बताए । यसका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

कार्यक्रममा झापाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य गौतम गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए । भेलामा औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का, सुनसरीका अध्यक्ष दीपेन्द्र शाहलगायत तीनवटै जिल्लाका कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।

व्यवसायीहरूले आफ्ना माग समेटिएको ध्यानाकर्षणपत्र छिट्टै सम्बन्धित सरकारी निकायमा बुझाउने तयारी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप स्वास्थ्य/जीवनशैली