नेभिगेशन
समाचार

नयाँ बसपार्कमा सुरक्षा कडाइ, समस्या देखिए तत्काल कारबाही गर्ने तयारी

धरान । धरान–८ स्थित नयाँ बसपार्कमा देखिएका समस्या नियन्त्रण गर्न सुरक्षा निकायले विशेष निगरानी बढाउँदै आवश्यकताअनुसार तत्काल कारबाही गर्ने भएको छ ।

बसपार्क क्षेत्रमा पछिल्लो समय निरन्तर गुनासो आउन थालेपछि धरान उपमहानगरपालिका र सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा व्यवस्था कडाइ गर्ने तयारी गरिएको हो ।

सोमबार धरान उपमहानगरपालिका परिसरमा भएको छलफलमा कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले बसपार्क क्षेत्रमा भइरहेका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय रूपमा प्रस्तुत हुन निर्देशन दिए ।

उनले बसपार्कमा देखिएका समस्या पटक–पटक दोहोरिँदै आएको भन्दै अब छलफल र निर्देशनमा मात्र सीमित नभई आवश्यक स्थानमा तत्काल कारबाही अघि बढाउनुपर्ने बताए ।

‘अहिले जे भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न कडा कारबाही आवश्यक छ,’ बेघाले भने, ‘बसपार्कका विषयमा निरन्तर गुनासो आइरहेका छन् । त्यसैले अब सम्बन्धित निकायले गम्भीर भएर काम गर्नुपर्छ ।’

छलफलमा सुरक्षा अधिकारीहरूले बसपार्क क्षेत्रमा निगरानी बढाएर समस्या पहिचान गर्ने र आवश्यकताअनुसार कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

बसपार्कलाई सुरक्षित र व्यवस्थित बनाउन उपमहानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीबीचको समन्वय थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

छलफलमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राई, सशस्त्र प्रहरीका डीएसपी गुकेश उप्रेती, ट्राफिक प्रहरी निरीक्षक अनिल मावो, राजस्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा र प्रशासन महाशाखा प्रमुख बेदप्रसादलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार