नेभिगेशन
स्वास्थ्य/जीवनशैली

बीपी प्रतिष्ठानका तीन पदाधिकारीका लागि १४ जनाको छोटो सूची सार्वजनिक

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि १४ जना आवेदकको छोटो सूची सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले रिक्त पदाधिकारी पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छोटो सूचीमा परेकाहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन आह्वान गरेको हो ।

प्रतिष्ठानको पदाधिकारीको नियुक्ति तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० अनुसार प्राप्त आवेदनमध्ये छोटो सूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ । सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता प्रतिष्ठानको उपकुलपतिको कार्यालयमा हुने सूचनामा उल्लेख छ ।

शिक्षाध्यक्ष पदका लागि चार जना छोटो सूचीमा परेका छन् । जसमा प्रा.डा. काजिराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोबिन मास्के र प्रा.डा. शिवेन्द्र झा रहेका छन् ।

त्यस्तै, रजिस्ट्रार पदका लागि डा. अरुणकुमार सिंह, प्रा.डा. अशोककुमार झा,  धरणिधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र सागरकुमार ताम्रकार छोटो सूचीमा परेका छन् ।

अस्पताल निर्देशक पदका लागि प्रा.डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बू, डा. मधुर बस्नेत, डा. शेखर अहमद खान र डा. विम्मी सिंह छनोट भएका छन् ।

प्रतिष्ठानले छोटो सूचीमा परेका उम्मेदवारहरूलाई आ–आफ्नो सम्पूर्ण सक्कल प्रमाणपत्रसहित उपस्थित हुन भनेको छ । प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उम्मेदवारहरूले तोकिएको मिति र समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

सूचनाअनुसार प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ भदौ १० गते बुधबार हुनेछ । अस्पताल निर्देशक पदका उम्मेदवारको कार्यक्रम बिहान ८ः३० बजेदेखि ११ः०० बजेसम्म, रजिस्ट्रार पदका उम्मेदवारको बिहान ११ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म तथा शिक्षाध्यक्ष पदका उम्मेदवारको दिउँसो २ः०० बजेदेखि ५ः०० बजेसम्म निर्धारण गरिएको छ ।

प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस समिति, २०८३ ले उक्त सूचना जारी गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप स्वास्थ्य/जीवनशैली