नेभिगेशन
समाचार

श्रीलंका टप्पुको कटान रोक्न बजेट विनियोजन गर्ने मुख्यमन्त्री हिक्मत कार्कीको प्रतिबद्धता

श्रीलंका टप्पु (सुनसरी) । श्रीलंका टप्पु कटान रोक्न कोशी प्रदेश सरकारले आवश्यक नीतिगत निर्णय गरी बजेट विनियोजन गर्ने कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । 

बिहीबार कोशी कटान अवलोकन गर्न सुनसरीको वराहक्षेत्र-६ र ९ स्थित श्रीलंका टप्पु पुगेका मुख्यमन्त्री कार्कीले वराहक्षेत्र र  बेलका नगरका नगरप्रमुखहरूसँग परामर्श गरेका छन् । परामर्शपछि प्रदेश सरकारले पहिलो चरणमा ५० लाख रुपैयाँ र दोस्रो चरणमा ५० लाख रुपैयाँसहित तत्काल १ करोड रुपैयाँ विनियोजन गरी काम सुरु गर्ने बताए ।

'कोशी कटान रोक्न स्थानीय तहहरूले जसरी काम गरिरहेका छन्, त्यसलाई निरन्तरता दिन कोशी प्रदेश सरकारले पैसा, आवश्यक जनशक्ति, आवश्यक नीतिगत निर्णय गर्नेछ,' मुख्यमन्त्री कार्कीले भने, 'काम तत्कालै हुन्छ, केही दिनभित्रै कोशी कटान नियन्त्रण हुन्छ ।'

कोशी कटान नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए । 

कोशी सम्झौताअनुसार भारतीय क्षेत्राधिकारभित्र पर्ने भएकाले कोशी कटान नियन्त्रण गर्न भारतीय पक्ष र राजदूतावासमा समेत कुटनीतिक पहल आवश्यक रहेको वराहक्षेत्र र बेलका नगरपालिकाका नगरप्रमुखहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले बताए । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीहरू, प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय सरकारका प्रमुखहरू, प्रदेश सरकारका इन्जिनियर, प्राविधिकहरूको लावालस्कर लिएर श्रीलंका टप्पु पुगेका मुख्यमन्त्री कार्कीले कोशी कटानको विषयलाई संवेदनशील रुपमा हेरेको बताए । 

1000231300-1787815869.jpg
कोशी बक्राहाको २० लाखको काम, जनताको गुनासो 

श्रीलंका टप्पुको वराहक्षेत्र-६ स्थित चिलियामा कोशी तथा वक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरले गरेको काममा जनताले गुनासो गरेका छन् । 

२०० मिटर बोराबाँध र बेम्बो पाइलिङ गरेको २० लाख रुपैयाँको काम गरिएको प्रमुख चक्रविक्रम सिंहले जानकारी दिए । तर स्थानीयले जनश्रमदानबाट काम भएकाले त्यति ठूलो रकम खर्च नभएको स्थानीय नन्दकिशोर मेहेताले बताए । 

जम्मा १९० घना बाँसको स्थानीयलाई भुक्तानी गरे पनि मुचुल्कामा ४५० घना बाँस उल्लेख गरेकाले नदी नियन्त्रणको काम चित्त बुझ्दो नभएको मेहेताको भनाइ छ । 

जनताले कामको विवरण माग गरे पनि कोशी बक्राहा कार्यालयका प्रमुख सिंहले कामको सबै विवरण तत्काल उपलब्ध गराउन नसकिने बताए । उनले कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । काम सम्पन्न गरेको मुचुल्का तयार भइसकेको सामाजिक परीक्षण गर्ने बताए । 

'डिईले मुख्यमन्त्रीको अगाडि १४० मिटर बोराबाध र बेम्बो पाइलिङ गरेको रिपोर्टिङ गरे तर स्थानीयलाई २०० मिटर भनेका छन्, काम कति भयो भन्नेमा शङ्का उत्पन्न भएको छ ।' स्थानीयले गुनासो गर्दै भने, 'फिल्डमा २० लाख रुपैयाँँ बराबरको काम हुनुपर्छ, त्यस्तो देखिंदैन, गाउँलेले श्रमदान गरेका छन् ।' 

कोशी कटान नियन्त्रण गर्न गत असार ५ गतेदेखि वराहक्षेत्र र बेलकाका स्थानीयले श्रमदान गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार