नेभिगेशन
समाचार

डिजेल र पेट्रोलमा ठगी : विराटनगरको पूर्वाञ्चल आयललाई १ लाख रुपैयाँ जरिवाना


विराटनगर । उपभोक्तालाई पेट्रोलियम पदार्थमा कम परिमाण दिएर ठगी गरेको आरोपमा विराटनगर–६ स्थित पूर्वाञ्चल आयल सप्लायर्सलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले मंगलबार उक्त सप्लायर्सलाई १ लाख रुपैयाँ जरिवाना गर्दै पुराना मेसिन हटाएर नयाँ मेसिन जडान गर्न निर्देशन दिएको हो ।

कार्यालयका प्रमुख शम्भू झाले ‘स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५’ को दफा ३० को उपदफा १ बमोजिम कारबाही गरिएको जानकारी दिए ।

“हामीले सञ्चालकको बयान र स्थलगत निरीक्षणपछि जरिवाना गर्ने निर्णय गरेका हौं,” कार्यालय प्रमुख झाले भने, “पम्पमा रहेका पुराना मेसिन हटाएर नयाँ जडान गर्न पनि निर्देशन दिइएको छ ।”
नापतौल कार्यालयले तोकेको जरिवाना रकम बुझाएपछि सञ्चालक ओमप्रकाश अग्रवालले बुधबारदेखि पम्प पुनः सञ्चालनमा ल्याएका छन् ।

शनि मन्दिर अगाडि रहेको उक्त पेट्रोल पम्पमा नापतौल कार्यालयले सोमबार साँझ आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा डिजेल र पेट्रोल दुवैमा कम परिमाण दिएर उपभोक्तालाई ठगी भइरहेको भेटिएको थियो ।

कार्यालयका अनुसार परीक्षणका क्रममा ५ लिटर पेट्रोल बिक्री गर्दा ६० मिलिलिटर र ५ लिटर डिजेल बिक्री गर्दा १ सय मिलिलिटरसम्म कम इन्धन दिइएको पुष्टि भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार