नेभिगेशन
समाचार

भोटेकोशी बाढीपीडितका सन्दर्भमा सप्तकोशी प्रभावित नगर 'वराहक्षेत्रका दुई निर्णय'

वराहक्षेत्र (सुनसरी) । भोटेकोशी बाढीपछि सम्पर्क विहीन आफ्ना नगरवासीको खोजीकार्यका लागि वराहक्षेत्र नगरपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

शनिबार नगरस्तरीय विपद समितिको बैठकमा समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख रमेश कार्कीले उक्त निर्णय गरिएको जानकारी दिए । यस्तै नगरका सम्पूर्ण कर्मचारीको दुई दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । 

नगरप्रमुख कार्कीका अनुसार पीडितहरूको राहत र उद्धारका लागि नगरप्रमुखबाट- १० हजार रुपैयाँ, नगरउपप्रमुखबाट- ७ हजार रुपैयाँ, वडाध्यक्षहरूबाट जनही- ५ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरूबाट जनही- २ हजार रुपैयाँ र वडासदस्यहरूबाट जनही- १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

विपद समितिको बैठकमा नगरप्रमुख कार्कीले स्थानीय व्यवसायी, सामाजिक सङ्घसंस्था, व्यवसायी र पेशाकर्मीलाई सङ्कटका बेला सहयोग गर्न आह्वान गरे । 

भोटेकोशीको बाढीपछि वराहक्षेत्र-३ की रुबिना राजधामी, वराहक्षेत्र-४ का मोहन माझी, वराहक्षेत्र-११ का छविकेशर काफ्ले र मणिकरण राई साथै वराहक्षेत्र-७ का भुवनबहादुर श्रेष्ठ हराइरहेका छन् । 

यता निरन्तर वर्षापछि सप्तकोशी नदीको वहाव बढ्दै गएको छ । सप्तकोशी नदीको वहाव यो समाचार तयार पार्दासम्म १ लाख ४८ हजार ८४० क्युसेक रहेको छ । नदीको वहावले खतराको तह पार गरेको छ । 

जोखिममा रहेको वराहक्षेत्र नगरको वडा नं. ६ र ९ मा पर्ने श्रीलङ्का टप्पुमा त्रासको अवस्था रहेको स्थानीय सन्तोष चन्द्रवंशीले बताएका छन् । १ महिनाअघिदेखि श्रमदानमार्फत स्थानीयले लगाएको बोराबाँध र बाँसको पाइलिङ कटान गरिसकेको छ । कटान रोकथामका लागि स्थानीयले हारगुहार गरेका छन् । कटान बढ्दै जाँदा टप्पुका दर्जनौं घर केही दिनअघि स्थानान्तरण गरिएको थियो । पहाडी क्षेत्रमा आज निरन्तर वर्षा भइरहेको छ । 

बिहीबार टप्पुको स्थलगत अवलोकनमा पुगेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको टोलीले कोशी कटानको तत्काल रोकथाम गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार