सुनसरी । नेपालका नदी बेसिनमा पहिचान गरिएका ४७ जोखिमयुक्त हिमतालमध्ये ४२ वटा कोशी बेसिनमै रहेको पाइएको छ । तीमध्ये २४ वटा चीनको तिब्बत स्वशासित क्षेत्रमा र १८ वटा नेपालतर्फ छन् । यसले कोशी नदी प्रणालीलाई हिमताल विस्फोटनजन्य बाढीको जोखिमका दृष्टिले नेपालको सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा देखाएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिवेदन तथा पछिल्ला अध्ययनअनुसार नेपालमा हिमताल विस्फोटनजन्य बाढीको सम्भावित जोखिमको करिब ९० प्रतिशत कोशी नदी प्रणालीसँग सम्बन्धित छ । कोशी बेसिनमा जोखिमयुक्त हिमतालको संख्या धेरै हुनुका साथै तीमध्ये अधिकांश सीमापार क्षेत्रमा रहेकाले विपद् व्यवस्थापनमा नेपाल र चीनबीच सूचना आदानप्रदान र समन्वयसमेत महत्त्वपूर्ण हुने देखिएको छ ।
नेपालतर्फ दूधकोशी, अरुण र तमोर उपबेसिन विशेष संवेदनशील मानिएका छन् । यी क्षेत्रमा इम्जा, लोअर बरुण, लुम्दिङ र हङ्गु क्षेत्रका ठूला हिमताल छन् । हिमनदी पग्लने क्रम तीव्र बन्दै जाँदा कतिपय हिमतालको क्षेत्रफल र पानीको मात्रा बढिरहेको छ भने नयाँ हिमतालसमेत बन्ने क्रम देखिएको छ ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र रूपमा पग्लँदा हिमतालमा पानीको मात्रा बढ्नुका साथै ताललाई थामेर राखेको प्राकृतिक बाँध कमजोर बन्न सक्ने जोखिम रहन्छ । नेपालमा सन् १९७७ यता कम्तीमा २६ वटा ठूला हिमताल विस्फोटनका घटना भएको अध्ययनहरूले देखाएका छन् । यस्ता घटनाबाट जलविद्युत् आयोजना, सडक, पुल तथा नदी किनारका बस्तीमा क्षति पुगेको छ ।
कोशी बेसिनमा रहेका जोखिमयुक्त हिमतालमध्ये संखुवासभाको मकालु बरुण क्षेत्रको तल्लो बरुण, सोलुखुम्बुको लुम्दिङ, हङ्गु बेसिनको ‘लेक ४६४’ र इम्जा हिमतालको अवस्था तथा जोखिमबारे विभिन्न अध्ययन भएका छन् ।

तल्लो बरुणमा बढ्दो पानीको चाप
मकालु बरुण राष्ट्रिय निकुञ्जको बरुण उपत्यकामा समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरको उचाइमा रहेको तल्लो बरुण हिमताललाई नेपालकै ठूलो सम्भावित खतरनाक हिमतालमध्ये एक मानिएको छ । करिब २.७ किलोमिटर लामो र ६०० मिटर चौडा यो ताल मकालु आधार शिविर जाने पदमार्गको छेउमा छ । बरुण हिमनदी पग्लिएर बनेको तालको पानी बरुण खोला हुँदै अरुण नदीमा मिसिन्छ ।
इसिमोड र युएनडिपीले सन् २०२० मा गरेको संयुक्त अध्ययनले तल्लो बरुणलाई नेपालकै सबैभन्दा ठूलो र सम्भावित रूपमा खतरनाक हिमतालका रूपमा वर्गीकरण गरेको थियो । यसमा करिब ११ करोड २३ लाख घनमिटर पानी रहेको मापन गरिएको थियो । सन् १९९२ मा यसको क्षेत्रफल ०.७७ वर्ग किलोमिटर रहेकोमा पछिल्ला वर्षमा ताल विस्तार हुँदै आएको छ ।
तल्लो बरुणको पछिल्लो स्थलगत अध्ययनमा ड्रोन सर्वेक्षण, तालको गहिराइ मापन गर्ने बाथिमेट्री सर्वेक्षण तथा बाँधको आन्तरिक संरचना बुझ्न भौगर्भिक र भूभौतिकीय अध्ययन गरिएको थियो । अध्ययनका क्रममा तालमा ठूला हिमखण्ड खस्ने र तैरिरहेका भेटिएका थिए ।
तालको पार्श्व मरेन खिइँदै जाँदा बरुण खोलाको सतह र मरेनको उचाइ झन्डै बराबर भएको अध्ययनले देखाएको छ । अत्यधिक वर्षा वा हिमपहिरोका कारण बरुण खोलामा पानीको बहाव बढेमा त्यो पानी तालमा मिसिन सक्ने जोखिम छ ।
ताललाई थामेर राखेको मुख्य बाँध ठूला ढुङ्गाबाट बनेको र त्यसमा बालुवा तथा माटोका कण कम रहेकाले संरचना छिद्रयुक्त रहेको अध्ययनले देखाएको छ । बाँधमुनिबाट पानी चुहिने सम्भावना तथा बरुण हिमनदी पग्लिएर तालमा पानी थपिँदै जाने अवस्थाले जोखिम बढाएको वैज्ञानिकहरूको निष्कर्ष छ ।
अनुसन्धान टोलीको नेतृत्व इसिमोडका क्रायोस्फियर विश्लेषक शरदप्रसाद जोशीले गरेका थिए । टोलीमा इसिमोडका रिमोट सेन्सिङ विश्लेषक सुदन विकास महर्जन, रिमोट सेन्सिङ एशोसिएट तेन्जिङ चोग्याल शेर्पा र काठमाडौं विश्वविद्यालयका विद्यावारिधि शोधकर्ता राकेश कायस्थ सहभागी थिए । संकलित तथ्याङ्कको विस्तृत विश्लेषणबाट तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गर्न आवश्यक आधार तयार हुने अनुसन्धान टोलीले जनाएको छ ।
खुम्चिँदै लुम्दिङ हिमनदी, फैलिँदै हिमताल
सगरमाथा क्षेत्रमा रहेको लुम्दिङ हिमनदी तीव्र गतिमा खुम्चिँदै जाँदा यसको फेदमा रहेको लुम्दिङ हिमताल विस्तार भइरहेको छ । इसिमोड तथा भू-उपग्रह चित्रहरूको विश्लेषणअनुसार लुम्दिङ हिमनदी प्रतिवर्ष औसत ३५ देखि ४० मिटरका दरले पछाडि हटिरहेको छ ।
सन् १९६२ मा लुम्दिङ हिमतालको लम्बाइ ६२५ मिटर र क्षेत्रफल ०.१ वर्ग किलोमिटर मात्र थियो । सन् २००० सम्ममा क्षेत्रफल बढेर ०.७७ वर्ग किलोमिटर पुगेको थियो । सन् १९९२ मा तालको लम्बाइ एक हजार ६७५ मिटर रहेकोमा सन् २००७ मा दुई हजार १८० मिटर पुगेको थियो । सन् २००९ मा लम्बाइ दुई हजार ३२५ मिटर र सन् २०१३ मा दुई हजार ५०० मिटर पुगेको अध्ययनले देखाएको छ । त्यतिबेला तालको क्षेत्रफल एक वर्ग किलोमिटरभन्दा बढी भइसकेको थियो ।
लुम्दिङ हिमनदी वरपरका भित्ताबाट खस्ने हिमपहिरोबाट प्राप्त हिउँ र बरफमा निर्भर छ । मुख्य हिमनदीलाई पोषण गर्ने दुई सहायक हिमनदीसमेत करिब ३०० मिटर पछाडि हटेका छन् । यसले हिमनदीमा नयाँ हिउँ र बरफको आपूर्ति घटाउँदै लगेको छ ।
मुख्य हिमनदीको तल्लो भाग ढुङ्गा, बालुवा र माटोको तहले ढाकिएको हुँदा भित्री बरफ प्रत्यक्ष रूपमा पग्लिनबाट केही हदसम्म जोगिएको छ । तर सहायक हिमनदीहरू पछाडि हट्दै जाँदा हिउँ र बरफ आपूर्ति हुने दूरी बढेकाले यो प्राकृतिक सुरक्षा क्रमशः कमजोर हुन सक्ने वैज्ञानिकहरूको आकलन छ ।
लुम्दिङको अवस्था यस क्षेत्रमा देखिएको हिमनदी संकुचनको एउटा उदाहरण मात्र हो । तिब्बतको मेनलुङ, नेपालकै इम्जा र सिक्किमको उत्तरी ल्होनाक हिमनदी पनि खुम्चिँदै जाँदा तिनसँग जोडिएका हिमताल विस्तार भइरहेका छन् । यसलाई उच्च हिमाली क्षेत्रमा भइरहेको बरफ क्षयको साझा संकेतका रूपमा वैज्ञानिकहरूले लिएका छन् ।

चामलाङको छायाँमा ‘लेक ४६४’
मकालु बरुण राष्ट्रिय निकुञ्जको हङ्गु बेसिनमा रहेको नामविहीन हिमताललाई वैज्ञानिकहरूले ‘लेक ४६४’ नाम दिएका छन् । यसलाई पछिल्लो समय ‘पश्चिम चामलाङ हिमताल’ समेत भनिने गरिएको छ ।
जर्नल ‘नेचुरल ह्याजार्ड्स’ मा प्रकाशित अध्ययनले यो हिमताल विस्फोट भएमा दूधकोशी र सुनकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुग्न सक्ने देखाएको छ ।
यसअघि इसिमोडको सन् २००७ को भू-उपग्रहमा आधारित प्रतिवेदनमा ताल सूचीकृत भए पनि त्यसलाई जोखिमपूर्ण हिमतालका रूपमा वर्गीकरण गरिएको थिएन । चामलाङ हिमालको छायाँमा रहेकाले भू-उपग्रह तस्बिरमा यसको वास्तविक अवस्था स्पष्ट देखिन नसकेको अनुसन्धानमा उल्लेख छ ।
एल्टन सी. बायर्स, डेन म्याककिनी, मार्सेलो सोमोस-भालेन्जुएला, तेइजी वातानाबे र दामोदर लम्साल सम्मिलित अन्तरविषयक अनुसन्धान टोलीले सन् २००९ देखि २०१२ सम्म हिङ्कु र हङ्गु उपत्यकामा स्थलगत अध्ययन गरेको थियो । टोलीले जलमापन, भूमिगत अवस्था अध्ययनका लागि ग्राउन्ड पेनिट्रेटिङ राडार तथा सम्भावित बाढीको मोडलिङ गरेको थियो ।
अध्ययनका क्रममा चामलाङ हिमालबाट तालमाथि झुन्डिएका चारदेखि पाँचवटा ठूला हिउँका ढिस्का रहेको पाइएको थियो । तीमध्ये कुनै ठूलो हिमखण्ड तालमा खसेमा शक्तिशाली छाल उत्पन्न हुन सक्ने र त्यसले ताललाई थुनेर राखेको कमजोर प्राकृतिक बाँध भत्काउन सक्ने जोखिम औँल्याइएको छ । तालको बाँध ढुङ्गा, माटो र बरफबाट बनेको तथा पातलो र कमजोर रहेको अध्ययनमा उल्लेख छ । हङ्गु उपत्यकाको धरातल भिरालो भएकाले बाँध भत्किएमा ठूलो परिमाणको पानी तीव्र वेगमा तल्लो क्षेत्रमा पुग्न सक्ने जोखिम छ ।
अध्ययनअनुसार तालमा रहेको पानीको मात्रा र भौगोलिक अवस्थाका कारण विस्फोट भएमा दूधकोशी र सुनकोशी नदी किनारका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा गम्भीर असर पर्न सक्छ । दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको यो तालबारे तल्लो तटीय क्षेत्रका धेरै बासिन्दालाई पर्याप्त जानकारी नभएकोसमेत अध्ययनले उल्लेख गरेको छ ।
वैज्ञानिकहरूले जोखिम न्यूनीकरणका लागि नदी तटीय क्षेत्रमा वास्तविक समयमा सूचना दिने पूर्वसूचना प्रणाली, जोखिम क्षेत्रको नक्साङ्कन तथा स्थानीय समुदायमा सचेतना आवश्यक रहेको बताएका छन् ।

'इम्जा'को निगरानी आवश्यक
सोलुखुम्बुको इम्जा हिमतालको क्षेत्रफल, गहिराइ र पानीको आयतन बढे पनि तत्काल हिमताल विस्फोट हुने जोखिम भने कम रहेको पछिल्लो वैज्ञानिक अध्ययनले देखाएको छ । यद्यपि जलवायु परिवर्तन, ताललाई थामेर राखेको गेग्रान बाँधको अवस्था र सम्भावित भूकम्पका कारण यसको नियमित निगरानी आवश्यक रहेको अध्ययनको निष्कर्ष छ ।
इसिमोडको नेतृत्वमा विश्व बैंकको आर्थिक सहयोग तथा नेपाल सरकार, विभिन्न गैरसरकारी संस्था र विश्वविद्यालयहरूको सहभागितामा गरिएको बहुआयामिक अध्ययनले इम्जा हिमतालको पछिल्लो अवस्था र भौगर्भिक संरचनाको विश्लेषण गरेको हो ।
पछिल्लो मापनअनुसार इम्जा हिमतालको क्षेत्रफल १.०१ वर्ग किलोमिटर, अधिकतम गहिराइ ९६.५ मिटर र पानीको आयतन करिब तीन करोड ५५ लाख घनमिटर छ । सन् १९६० को दशकमा इम्जा हिमनदीको अग्रभागमा रहेका साना पोखरी विस्तार हुँदै जोडिएर अहिलेको हिमताल बनेको मानिन्छ । सन् १९६७ को नक्सामा उक्त क्षेत्रमा हिमनदी रहेको देखिए पनि सन् १९९५ सम्ममा ठूलो हिमताल बनिसकेको थियो ।
विगतका दशकमा तालको विस्तार तीव्र भए पनि पछिल्ला वर्षमा विस्तारको दर केही सुस्त भएको अध्ययनले देखाएको छ । तालको लम्बाइ, क्षेत्रफल र पानीको आयतनमा वृद्धि भए पनि तत्काल विस्फोट हुने सम्भावना न्यून देखिनुको एउटा कारण तालको लामो संरचना र यसलाई थामेर राख्ने फराकिलो गेग्रान बाँध हो ।
हिमनदीको अग्रभागबाट बरफका ढिस्का तालमा खस्दा तरङ्ग उत्पन्न हुन सक्ने भए पनि त्यस्ता तरङ्गले बाँध भत्काउने सम्भावना कम रहेको अध्ययनले जनाएको छ । वरपरका पहाडबाट ठूलो मात्रामा ढुङ्गा वा माटो सिधै तालमा खस्ने सम्भावनासमेत कम रहेको पाइएको छ ।
तर ताललाई थामेर राखेको गेग्रानभित्र पुरिएको बरफ हुन सक्ने र तापक्रम वृद्धिसँगै त्यो बरफ पग्लिँदा बाँधको संरचना कमजोर बन्न सक्ने जोखिम भने कायम छ । पानी चुहिने तथा कमजोर स्थानबाट क्षति बढ्दै जाने सम्भावनालाई पनि अध्ययनले औँल्याएको छ ।
इम्जा क्षेत्रमा ठूलो भूकम्प गएमा गेग्रान बाँधको संरचनामा क्षति पुग्न सक्ने भएकाले त्यसबाट हिमताल विस्फोटको जोखिम बढ्न सक्छ । स्थानीय मौसममा हुने असामान्य परिवर्तनले पनि तालको अवस्था प्रभावित पार्न सक्ने भएकाले दीर्घकालीन अनुगमन आवश्यक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ ।
डिङ्बोचे मौसम केन्द्रको तथ्याङ्कअनुसार सन् १९८७ देखि २००४ सम्म वार्षिक औसत तापक्रम बढ्दो क्रममा थियो । त्यसपछिको नियमित मौसमसम्बन्धी तथ्याङ्क पर्याप्त उपलब्ध नहुँदा हालको तापक्रमीय अवस्था र त्यसको हिमताल तथा हिमनदीमा परेको प्रभावको विस्तृत मूल्याङ्कन गर्न कठिनाइ रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

'जोखिम भविष्यको विपत्ति पनि हो'
कोशी बेसिनका हिमतालको अवस्था र विस्तारले सम्भावित जोखिमप्रति गम्भीर हुनुपर्ने देखाए पनि तालको क्षेत्रफल वा पानीको मात्रा बढ्दै जानु नै तत्काल विस्फोट हुने संकेत भने होइन । हिमतालको जोखिम निर्धारणमा प्राकृतिक बाँधको संरचना, हिमनदीको अवस्था, हिमपहिरो, चट्टान खस्ने सम्भावना, मौसम तथा भूकम्पजस्ता धेरै पक्षको भूमिका हुन्छ ।
नेपालमा विगतमा भएका हिमताल विस्फोटका घटनाले भने सम्भावित जोखिमलाई बेवास्ता गर्न नहुने देखाएका छन् । सन् १९८५ अगस्ट ४ मा चार हजार तीन सय ६४ मिटर उचाइमा रहेको डिक्छो हिमताल विस्फोट हुँदा दूधकोशी उपत्यकामा ठूलो क्षति भएको थियो । सन् १९९८ मा तामपोखरी हिमताल फुट्दा करिब एक करोड ७७ लाख घनमिटर पानी बाहिरिएको थियो ।
यसकारण कोशी बेसिनका जोखिमयुक्त हिमतालको नियमित वैज्ञानिक अध्ययन, पूर्वसूचना प्रणालीको विस्तार, जोखिम क्षेत्रको नक्साङ्कन, स्थानीय समुदायको तयारी र सीमापार सूचना आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
हिमताल विस्फोटको समय ठ्याक्कै पूर्वानुमान गर्न कठिन हुने भएकाले जोखिमबारे जानकारी गराउनु तत्काल विपत्ति आउँदैछ भन्ने अर्थमा बुझ्नु हुँदैन । वैज्ञानिक अनुगमन र जोखिम न्यूनीकरणका उपायसँगै जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र चेतावनीलाई आधार बनाएर सतर्क रहनु आवश्यक छ ।
तस्बिरहरू- इसिमोड