नेभिगेशन
आर्थिक

६५ वर्षमा पनि जाँगरिला युक्ति, ४ बिघामा गर्छन् तरकारी खेती

सुनसरी । वराहक्षेत्र-८ सालबनी तीनकुनेका कृषक युक्ति चौधरी ६५ वर्षको उमेरमा तरकारी खेतीमा पसिना बगाइरहेका छन् । ६५ बर्से उमेरमा पनि युवासरह जाँगरिला चौधरी अधिकांश समय खेतबारीमै बिताउँछन् । अहिले बर्खाको समय छ । उनको बारीमा रायो साग, तोरीको साग, खोर्सानीजस्ता नगदे बाली छन् । अहिले टमाटर खेतीका लागि बीउ राखिएको छ ।

उमेरले ६५ वर्ष पुगे । तर चौधरीलाई उमेरले खेतबारीको कामबाट रोक्न सकेको छैन । बिहानदेखि साँझसम्म उनी खेतमै भेटिन्छन् । १५ वर्षअघि एक बिघा जग्गाबाट व्यावसायिक तरकारी खेती सुरु गरेका चौधरी अहिले चार बिघा क्षेत्रफलमा खेती गरिरहेका छन् । उनले ‘रितिका कृषि फार्म’ दर्ता गरेरै तरकारी खेती गरिरहेका छन् ।

चौधरीको बारीमा अहिले रायो साग, खोर्सानी, तोरीको साग, भिण्डी, घिरौला, लट्टे साग र काँक्रालगायतका तरकारी छन् । मौसमअनुसार खेती परिवर्तन गर्दै आएका उनी तरकारी बिक्रीबाट वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने बताउँछन् । खेतीको नियमित हिसाबकिताब भने राख्ने  चलन छैन । 'कति कमाइ भयो भनेर हिसाब राखेको छैन,' चौधरी भन्छन्, 'तरकारी बिक्री गरेरै  घर बनाएँ ।'

खेतीमा चौधरी एक्लै छैनन् । उनका दुई छोरा पनि बुवासँगै खेतमा काम गर्छन् । घरका सासू–बुहारी भने उत्पादन भएको तरकारी बिक्रीका लागि हाटबजार पुग्छन् ।

'दुई भाइ छोरा र म खेतीमा काम गर्छौं, सासू बुहारी हाट बजारमा बिक्री गर्न लान्छन्,' चौधरी भन्छन्, 'धरान, इटहरी, इनरुवाका व्यापारी घरमै आएर पनि तरकारी लान्छन् ।'

1000230811-1787717795.jpg
उत्पादन बिक्रीका लागि चौधरीको परिवार स्थानीय बजारमै निर्भर छन् । बाङ्गे, चक्रघट्टी, कालाबन्जर, चतरा लगायतका हाटबजारमा तरकारी लिएर पुग्छन् । स्थानीय बजारसँगै धरान, इटहरी र इनरुवाका व्यापारीले घरबाटै तरकारी खरिद गर्ने भएकाले बजारको समस्या छैन ।

चौधरीले खेतीलाई विस्तार गर्दै जाँदा सरकारी निकायबाट पनि सहयोग पाएको बताउँछन् । 'कृषिफार्म दर्ता गरेपछि तालिम, अनुदान र सहयोग पनि पाइँदोरहेछ ।' चौधरी भन्छन् । कृषि ज्ञान केन्द्रबाट प्लास्टिक रोल र ट्याङ्की खरिदका लागि सहयोग पाएका उनले वराहक्षेत्र नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मल र बीउसमेत पाएको बताउँछन् । 

तरकारी खेतीसँगै चौधरीको परिवारले बाख्रापालन र लोकल कुखुरासमेत पाल्दै आएको छ । फार्ममा अहिले करिब २० वटा बाख्रा छन् । कृषि र पशुपालनलाई सँगसँगै अघि बढाएर परिवारको आम्दानीको आधार फराकिलो बनाउने चौधरी परिवारको प्रयास देखिन्छ ।

कोशी नदी किनारमा पर्ने सलबनीमा चार बिघामा लगाइएको तरकारीबारी सधैं हरियाली मात्र छैन । बर्खा लागेपछि किसानलाई खेती जोगाउने चिन्ता थपिन्छ । सालबनीमा पानीको उचित निकास नहुँदा बर्खाको पानी खेतमै जम्ने गरेको छ ।

1000230812-1787717852.jpg
२०८२ सालको बर्खामा चौधरी परिवारको तरकारीबारीमा घुँडामाथिसम्म पानी जम्यो । बाढीको पानीले काउली र टमाटर नष्ट गर्‍यो भने टनेलमा समेत क्षति पुग्यो । त्यस वर्ष तरकारी खेतीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको चौधरी बताउँछन् ।

'बर्खामा पानीको निकास हुँदैन । खेतमा घुँडामाथिसम्म पानी आउँछ,' उनी भन्छन्, 'गत वर्ष काउली, टमाटर सबै डुब्यो । टनेलमा पनि क्षति भयो ।'

खेतीका लागि मल, बीउ र सिँचाइको व्यवस्था गर्न सकिए पनि पानीको निकास भने चौधरीको परिवारको नियन्त्रणभन्दा बाहिरको समस्या हो । उत्पादन गर्न सक्ने जमिन हुँदाहुँदै बर्खाको पानीले हरेक वर्ष क्षति पुर्‍याउने अवस्थाले उनलाई चिन्तित बनाउने गरेको छ ।

1000230810-1787717750.jpg
विदेशबाट फर्किएर बुवासँगै खेतमा

चौधरीका कान्छा छोरा राजेश चौधरी ३३ वर्षका भए । केही वर्षअघि उनी रोजगारीका लागि कतार पुगेका थिए । त्यहाँ मेसन र कार्पेन्टरको काम गरे । तर काम कठिन भएपछि एक वर्षमै घर फर्किए ।

विदेशबाट फर्किएपछि राजेशले बुवाकै बाटो रोजे । त्यसयता उनी निरन्तर बुवासँगै तरकारी खेतीमा काम गरिरहेका छन् ।
'विदेशमा काम गाह्रो भयो,' राजेश भन्छन्, 'त्यसपछि घर फर्किएँ । अहिले बुवासँगै खेती गरिरहेको छु ।'

राजेश भन्छन्, '६५ वर्षको उमेरमा पनि बुवा अझै खेतमा आफैं खटिरहनु भएको छ, हामीभन्दा बढी नै खट्नुहुन्छ ।'

विदेश गएर फर्किएका राजेशका लागि पनि अहिले चार बिघाको यही जमिन रोजगारीको आधार बनेको छ । बुवाले १५ वर्षअघि एक बिघाबाट थालेको खेती अहिले चार बिघामा विस्तार भएको छ । त्यसैले चौधरी परिवारका लागि तरकारीबारी मात्र होइन, पुस्ता जोडिएको रोजगारी र आत्मनिर्भरताको आधार बनेको छ ।

'गाउँमै आफ्नै माटोमै श्रम गर्न सके विदेश पनि जानुनपर्ने रहेछ, विदेश गएर एकपल्ट मैले दु:ख पाएँ, अहिले आफ्नै माटोमा गाउँघरमा मिहिनेत गरिरहेको छु ।' राजेश भन्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप आर्थिक