नेभिगेशन
समाचार

५६ वर्ष पुरानो चतरा नहरका पुल जीर्ण, दुर्घटनाको खतरा बढेको स्थानीयको चिन्ता

धरान । चतरा मूल नहरको चतरा झुम्का सडक खण्डमा पर्ने विभिन्न स्थानमा रहेका पुल जीर्ण भएका छन् । 

उक्त सडक खण्डमा सार्वजनिक सवारीका साधन आवागमन हुने र चतरा नहरका जीर्ण पुलहरूले खतरा निम्त्याउन सक्ने भएकाले स्थनीयले चिन्ता व्यक्त गरेका हुन् । 

वराहक्षेत्र-८ मा पर्ने बेलाहा, वडा नं. को ४ थलाहा,  वराहक्षेत्र-४ र ८ को सिमाना पुलाहा, वराहक्षेत्र-४ को कौवा खोज र पिंडारी मन्दिर छेऊका गरी ५ वटा पुलहरू जीर्ण अवस्थामा छन् । 

स्थानीय युवा दिवान सिंह राई जीर्ण पुलका कारण खतरा बढेको बताउँछन् । 'पुलहरू भत्किंदै, भासिंदै गइरहेका छन्, जुनसुकै बेला दुर्घटना हुनसक्ने अवस्था छ ।' उनले भने । 

1000239001-1790407603.jpg
सुनसरी मोरङ सिचाइ आयोजनाका अनुसार चतरा नहर सन् १९६४ मा सुरु भई सन् १९७० मा सम्पन्न भएको थियो । चतरा नहरका संरचनाहरू ५६ वर्ष पुराना भएका छन् । परीक्षणको रूपमा दुई वर्ष भारत सरकारले योजना सञ्चालन गरी सन् १९७२ मा नेपाललाई हस्तान्तरण गरेको थियो । चतरा नहर सिँचाइ आयोजनाअन्तर्गत कोशी नदीको बायाँ (पूर्वी) किनारामा अवस्थित चतरामा साइट इन्टेक निर्माण गरी ५३ किमी लामो चतरा मूल नहर निर्माण भएको थियो । चतरा मूल नहरका १२ वटा शाखा र ३६ वटा माइनर निर्माण गरिएको थियो । 

सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर तेज रिजालका अनुसार जीर्ण पुलहरू निर्माणका लागि बजेट सुनिश्चित हुनुपर्छ । 'बजेट स्टिमेट गरेर मन्त्रालयमार्फत ठेक्का आह्वान हुन्छ,' सिडिई रिजालले भने, 'हामीले चतरा नहरको ५३ किलोमिटर क्षेत्रका संरचनाको पुनर्निर्माणका लागि विश्व बैंकलाई प्रस्ताव गरेका छौं ।' 

चतरा नहरकै ५२आरडीमा हाल ६.५ मिटर चौडाईको पुल निर्माणाधीन छ । उक्त पुलका लागि साढे १२ करोड रुपैयाँको लागत स्टिमेट तयार गरिएको सिडिई रिजालले बताए । उनका अनुसार अब बन्ने संरचनाहरू फराकिलो र अत्यधिक भारवहन क्षमताको हुने बताए । 

1000238999-1790407505.jpg
सिँचाइ आयोजनाले बनाउँदैन कालोपत्रे सडक 

चतरा-झुम्का २२ किलोमिटर सडक वर्षौंदेखि जीर्ण र कच्ची छ । स्थानीयले सडक स्तरोन्नति गर्न माग गर्दै आएका छन् । तर सुनसरी मोरङ सिचाइ आयोजनाले उक्त बाटो बनाउँदैन । 

वराहक्षेत्रको सौन्दर्यीकरणका लागि सबैभन्दा ठूलो बाधक बनेको यो सडक सिचाइ आयोजनाले नबनाउँदा सडक खण्डका किनारामा बस्ने स्थानीयका ४ पुस्ताले बर्खामा हिलो र हिउँदमा धुलोको सामना गर्नुपरेको छ । 

स्थानीय शिक्षक उमेश सुवेदीका अनुसार बाटोमा हिलो र धुलो हुने मात्र होइन, बिग्रिएको बाटोले दुर्घटना समेत बढाएको छ । 'हामीले अत्यन्तै धेरै प्रदूषणको सामना पनि गर्नुपरेको छ । यस विषयमा राज्य गम्भीर हुन आवश्यक छ ।' शिक्षक सुवेदीले भने ।

आयोजनाले उक्त सडकलाई सडकका रुपमा परिभाषित नगरेको बताउँदै आएको छ । तर स्थानीयले सडकको स्तरोन्नति गर्न माग गरेका छन् । सिचाइ आयोजनाकै क्षेत्राधिकारमा पर्ने भनिएको दुहबी, खनार झुम्का क्षेत्रमा सडक कालोपत्रे गरिएको छ ।स्थानीय सरकार वराहक्षेत्र नगरपालिकाले सिचाइ आयोजनाको जग्गामा लगानी गर्न नमिल्ने बताउँदै आएको छ । 

'सडक हामी बिटुमिनवाला बनाउदैनौं, हाम्रो स्पेसिफिकेसन र  क्लासिफिकेसनमा पर्दैन,' आयोजनाका सिडिई रिजालले भने, 'हामीले गर्ने भनेको आवश्यकताअनुसार ग्राभेल मात्र हो ।' 

सन् १९५४ मा कोशी सम्झौतापछि सुनसरी-मोरङका ६८००० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले चतरा नहर सिँचाइ योजना सुरू भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार