नेभिगेशन
समाचार

०६५ भदौमा कोशी फुट्दा पानीको वहाव कति थियो ? यस्तो छ कोशी बहावको अभिलेख

सुनसरी । सप्तकोशी नदीको वहाव २ लाख २३ हजार ३ सय ५० क्युसेकमा स्थिर छ । कोशी नदी बेसिनका माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । 

कोशी ब्यारेजका २७ वटा ढोका खोलिएका छन्, खतराको अवस्था उस्तै छ । सप्तकोशी नदीमा यो वर्षकै उच्च ३ लाख १६ हजार ७ सय ९५ क्यूसेक पानीको बहाव मापन भयो । शनिबार बिहान ७ बजे मापन गरिएको उक्त बहाव अहिले घट्दो क्रममा रहे पनि नदीमा खतराको अवस्था कायमै छ । 

सप्तकोशीमा यसअघि सन् १९६८ मा हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्यूसेक पानीको बहाव मापन भएको थियो ।

पछिल्ला वर्षमा भने नदीको बहाव ४ लाख क्यूसेकभन्दा माथि पुगेको छैन । तर, २०६५ सालमा १ लाख ६८ हजार क्यूसेक बहावमै सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमको अभिलेखअनुसार सन् १९८७ मा सप्तकोशीको बहाव ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक पुगेको थियो । सन् २००० यता भने नदीको बहाव ४ लाख क्यूसेकभन्दा माथि पुगेको छैन ।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक रहेको छ । ब्यारेजमा १ लाख ५० हजार क्यूसेकसम्मको पानीको बहावलाई सामान्य मानिन्छ । बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन ब्यारेजको पश्चिमतर्फ स्वचालित रूपमा रातो बत्ती बल्ने व्यवस्था छ । बहाव २ लाख क्यूसेक पुगेपछि पूर्वतर्फ र ३ लाख क्यूसेक नाघेपछि ब्यारेजको मध्यभागमा समेत रातो बत्ती बल्ने गर्छ ।

२०६५ भदौ २ गते १ लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो । तटबन्ध भत्किएपछि कोशी गाउँपालिकाका चारवटा बस्तीमा बाढी पसेको थियो । उक्त घटनामा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।

२०६५ सालअघि पनि सुनसरीको वराहक्षेत्रका बासिन्दा सप्तकोशीको कटान र बाढीबाट प्रभावित हुँदै आएका थिए । तथ्यांकअनुसार २०२२ सालयता वराहक्षेत्र ३ हजार ९ सय परिवार प्रभावित भएका छन् । सो अवधिमा सप्तकोशीले वराहक्षेत्रका ८ हजार ६ सय बिघा खेतीयोग्य जमिन कटान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार