नेभिगेशन
पर्यटन

कोशीमा विश्व पर्यटन दिवस : पूर्वसहमति लत्याउँदै सरकार र व्यवसायीका छुट्टै कार्यक्रम

विराटनगर । विश्व पर्यटन दिवसमा कोशी प्रदेश सरकार र पर्यटन व्यवसायीबीचको समन्वय अभाव हुँदा दुई फरक कार्यक्रमहरू देखिए  । 

संयुक्त कार्यक्रम गर्ने पूर्वसहमति कार्यान्वयन नभएपछि आइतबार प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५ किलोमिटर दौड आयोजना गर्‍यो भने पर्यटन व्यवसायीहरू सरसफाइ र विदेशी पर्यटकको स्वागतमा जुटे ।

मन्त्रालय र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) कोशी प्रदेशबीच संयुक्त रूपमा कार्यक्रम गर्ने सहमति भएको थियो । त्यसका लागि कार्यतालिका तय गरी पत्राचारसमेत भइसकेको थियो । तर, कार्यक्रमको तीन दिनअघि मन्त्रालयले सोही समयमा छुट्टै दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपछि संयुक्त कार्यक्रम हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले विराटनगर विमानस्थल मोडमा ‘क्लिन एन्ड ग्रिन’ अभियानअन्तर्गत सरसफाइ तथा वृक्षारोपण गरे । त्यसपछि बुद्ध एयरमार्फत विराटनगर आएका चिनियाँ र भारतीय पर्यटकको टोलीलाई विमानस्थलमै खादा–माला लगाएर स्वागत गरे ।

कार्यक्रममा स्थानीय प्रशासन र निजी क्षेत्रका प्रतिनिधि सहभागी भए । तर, पर्यटन मन्त्रालयका प्रतिनिधि भने सहभागी भएनन् । नाटा कोशीका अध्यक्ष पुण्यप्रसाद भट्टराईले मन्त्रालयले अन्तिम समयमा कार्यक्रम परिवर्तन गरेर निजी क्षेत्रलाई पाखा लगाएको आरोप लगाए ।

“पर्यटन प्रवर्द्धन भनेको पाहुनाको स्वागत–सत्कार र गन्तव्यको सरसफाइ गरेर हुन्छ कि सडकमा दौडिएर ?” उनले प्रश्न गरे । उनका अनुसार पर्यटन क्षेत्रको आवश्यकता नबुझी कार्यक्रम तय गर्दा पर्यटन दिवसको उद्देश्य नै कमजोर हुन्छ ।

1000239286-1790504462.jpg
होटल तथा पर्यटन व्यवसायी महासंघ कोशीका अध्यक्ष मढिन्द्रबहादुर कटुवालले पनि मन्त्रालयले नै बोलाएको बैठकको निर्णय कार्यान्वयन नभएको बताए ।

“बिहान ७ बजे संयुक्त कार्यक्रम गर्ने तय भएको थियो, तर मन्त्रालयले एकलौटी रूपमा खेलकुद गर्‍यो,” उनले भने ।
सरकार र व्यवसायीबीचको मतभेद कार्यक्रममै सीमित नभई पर्यटन बजेटको प्राथमिकतासँग पनि जोडिएको व्यवसायीहरूको भनाइ छ । 

प्रदेश सरकारले ‘कोशी प्रदेश भ्रमण वर्ष २०८१–२०८५०’ घोषणा गरे पनि पर्यटन प्रवर्द्धनका लागि छुट्टै ठोस बजेट नरहेको उनीहरूको गुनासो छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको करिब १२ करोड रुपैयाँ बजेटमध्ये ४ करोड ५ लाख रुपैयाँ विभिन्न खेलकुद प्रतियोगिताका लागि विनियोजन गरिएको छ । प्रदेशमा खेलकुदका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गत २३ करोड रुपैयाँ बजेटसहित खेलकुद विकास बोर्ड रहेको अवस्थामा पर्यटनको बजेट खेलकुदमा विनियोजन गरिएको व्यवसायीहरूको भनाइ छ ।

यता, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले दौड प्रतियोगिता ‘युवा (जेन्जी) केन्द्रित’ कार्यक्रम भएको बताए । नयाँ पुस्तालाई पर्यटनसँग जोड्न दौड प्रभावकारी हुने देखिएकाले कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

निजी क्षेत्रसँग दूरी नबढेको दाबी गर्दै उनले पर्यटनको बजेट खेलकुदमा राख्ने विषय राजनीतिक नेतृत्वबाट तय भएको बताए । उनका अनुसार अहिले बजेट संशोधनको प्रक्रिया अघि बढिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन

कङक्रिटले कुरुप : रामधुनी !