नेभिगेशन
पर्यटन

सप्तकोशीमा सुरक्षित जलयात्राको आधार खोइ ?

सप्तकोशी नदीमा बोट चलाउने चालकसँग अनुभव छ । व्यवसायीले करोडौँ लगानी गरेका छन् । दुर्गम बस्तीका बासिन्दाले नदी हुँदै यात्रा गरिरहेका छन् । तर बोट चालकको अनुमतिपत्र, सुरक्षित जलमार्ग र प्रभावकारी नियमनको व्यवस्था अझै स्पष्ट छैन ।

गत आइतबार अरुण र दूधकोशीको दोभान क्षेत्रमा ‘मकालु’ नामको ओबीएम बोट दुर्घटनामा पर्‍यो । भोजपुरको कोप्चेबाट वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा तीन जनाको मृत्यु भयो । प्रारम्भिक विवरणअनुसार इन्जिन बन्द भएपछि दुर्घटना भएको थियो । घटनाको यकिन कारण भने अनुसन्धानबाट खुल्न बाँकी छ ।

सप्तकोशीमा भएको यो दुर्घटना पहिलो होइन । दशकौँअघि ‘शेर्पा’ नामको बोटदेखि २०६७ सालमा ‘सुम्निमा’ जेटबोट र अहिले ‘मकालु’ सम्मका दुर्घटनाले नदीमा जलयात्रा कति जोखिमपूर्ण छ भन्ने देखाएका छन् । घटना फरक भए पनि यात्रुको सुरक्षाको जिम्मेवारी कसले लिने भन्ने सवाल उठेको छ । 

सन् १९६८ मा अरुण नदीमा ‘शेर्पा’ नामको बोट दुर्घटनामा परेको थियो । सर एडमन्ड हिलारी, जोन हेमिल्टन र जिम विल्सनले दुर्गम गाउँबीच सञ्चार सम्पर्क विस्तार गर्ने उद्देश्यले सुनकोशी र यसका सहायक नदीमा अन्वेषण यात्रा सुरु गरेका थिए । त्यही यात्रासँग जोडिएको दुर्घटना सप्तकोशी क्षेत्रमा जलयात्राको जोखिम सम्झाउने पुरानो घटना हो ।

२०६७ साल भदौ २७ गते सप्तकोशीमा व्यावसायिक रूपमा सञ्चालन भइरहेको ‘सुम्निमा’ जेटबोट दुर्घटनामा पर्‍यो । बोटसँगै बेपत्ता भएका रमेश कार्कीको अवस्था पत्ता लाग्न सकेन । त्यसपछि २०८० कात्तिक १६ गते सशस्त्र प्रहरीको गोताखोर प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पाँच जना पत्रकार मोटरबोट पल्टिँदा घाइते भए । अहिले ‘मकालु’ दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।

यी घटनालाई एउटै कारणले भएको भन्न मिल्दैन । तर नदीको बहाव, बोटको प्राविधिक अवस्था, चालकको दक्षता र सुरक्षा व्यवस्थालाई बेवास्ता गरेर जलयात्रा सुरक्षित हुन सक्दैन भन्ने सन्देश भने स्पष्ट छ ।

सप्तकोशीमा बोट चलाउने चालकको कमी छैन । उनीहरूले वर्षौंदेखि नदीको बहाव, भुमरी, पानीमुनिका ढुङ्गा र जोखिमपूर्ण मोडको अनुभव सँगालेका छन् । कतिपयले विदेशमा सीप सिकेका छन् भने कतिपय अनुभवी चालकसँग काम गर्दै बोट चलाउन जानेका हुन् ।
 

Sumnima-Jet-boat-chatara-by-nawaraj-bista-1793096761.jpg
सुम्निमा

कतारमा साढे चार वर्ष कोस्टगार्डका रूपमा काम गरेका बेलका–५ का राजेशकुमार चौधरी सन् २०१३ मा नेपाल फर्किएपछि सप्तकोशीमा कप्तानका रूपमा काम गर्न थाले । चन्द्रबहादुर राईले २०६४ सालदेखि बोटमा काम गर्दै आएका छन् । उनी सहचालकबाट कप्तान बनेका हुन् । सुजन श्रेष्ठ, सुवास राई र तिलक शिवालगायतले पनि काम गर्दै सीप सिकेका छन् ।

यसरी एक चालकबाट अर्को चालकमा सीप हस्तान्तरण हुँदै आएको छ । तर उनीहरूको दक्षता परीक्षण गर्ने र त्यसका आधारमा आधिकारिक अनुमतिपत्र दिने व्यवस्था स्पष्ट छैन । कतिपयसँग विदेशमा काम गरेको अनुभवको प्रमाणपत्र भए पनि नेपालमा व्यावसायिक रूपमा बोट चलाउन आवश्यक पर्ने औपचारिक मान्यता अन्योलमै छ ।

वर्षौंदेखि नदीमा काम गरेका चालकको अनुभवलाई बेवास्ता गर्नु समाधान होइन । उनीहरूको सीप परीक्षण गरेर आवश्यक तालिम र अनुमतिपत्रको व्यवस्था गर्न सकिन्छ । यसले अनुभवी चालकको ज्ञानलाई मान्यता दिनुका साथै नयाँ चालकलाई पनि निश्चित मापदण्डअनुसार दक्ष बनाउन सहयोग गर्छ ।

तर चालकको दक्षता मात्रै सुरक्षाका लागि पर्याप्त हुँदैन । बोटको प्राविधिक अवस्था, यात्रु बोक्ने क्षमता, सुरक्षा सामग्री, सञ्चार उपकरण र आपत्कालीन उद्धारको तयारी पनि उत्तिकै आवश्यक हुन्छ । यी विषयमा नियमित अनुगमन गर्ने निकाय र स्पष्ट जिम्मेवारी नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्छ ।

सप्तकोशीको जलयात्रा स्थानीय बासिन्दाका लागि मनोरञ्जन वा पर्यटनमा सीमित छैन । भोजपुर, धनकुटा र खोटाङका दक्षिणी भेगका वासिन्दाको लामो यात्रा छोट्याउने माध्यम बनेको छ । बिरामीलाई अस्पताल पुर्‍याउन, सडक अवरुद्ध भएका बेला आवतजावत गर्न र दैनिक उपभोग्य सामान ओसार्न पनि मोटर बोट उपयोगी हुँदै आएको छ ।

तर नदीमा बोट चल्नु र व्यवस्थित जल यातायात सञ्चालन हुनु फरक कुरा हुन् ।

चतरा र भोजपुरको कोप्चेबीच यात्रा गर्दा त्रिशूले घाँगीको अवरोधका कारण बोट चलाउन सकिएको छैन । बर्खाको बाढीपछि नदीको धार र ढुङ्गाको अवस्था बदलिँदा यात्रा झन् कठिन हुने गरेको छ । 

मोटर बोटले दूरी छोट्याए पनि यात्रुले निरन्तर र सहज यात्रा गर्न पाएका छैनन् । सडकको पहुँच कमजोर भएका बस्तीका लागि उपयोगी बनेको जल यातायातलाई सुरक्षित र भरपर्दो बनाउनु आवश्यक छ ।

यसका लागि नदीका अवरोध र सुरक्षित मार्गबारे प्राविधिक अध्ययन गर्नुपर्छ । सप्तकोशीमा ठूला चट्टान, पानीमुनिका ढुङ्गा, बदलिइरहने धार र बाढीले ल्याउने गेग्रानले बोट सञ्चालनमा कठिनाइ थप्छन् । 

व्यवसायीले लामो समयदेखि नदीका अवरोध व्यवस्थापन गर्न माग गर्दै आएका छन् । कतिपयले ढुङ्गा हटाउन सके अरुणतर्फ तुम्लिङटार र सुनकोशीतर्फ दोलालघाटसम्म बोट सञ्चालन गर्न सकिने सम्भावना औँल्याएका छन् । तर प्राविधिक अध्ययन भने राज्यले गर्न सकेको छैन । 

खुवालुङजस्ता किरात समुदायका लागि धार्मिक र सांस्कृतिक महत्त्व भएका स्थलको संरक्षण गर्दै सुरक्षित जलमार्ग पहिचान गर्न आवश्यक छ । नदीको प्राकृतिक स्वरूप बाढीपछि फेरिन सक्ने भएकाले सुरक्षित मार्गको नियमित सर्वेक्षण गरिनुपर्छ । 

चतरा–भोजपुर जलमार्गका लागि टर्मिनल निर्माण गर्ने योजना अघि बढाइएको थियो । नदीको गहिराइ, पानीमुनिका ढुङ्गा, पुलको उचाइ र सम्भावित टर्मिनलको जमिनसमेत अध्ययन गरिएको थियो । पानीजहाज कार्यालयले नदीका अवरोध हटाउन बजेट खर्च गरेको विवरण पनि सार्वजनिक भएको थियो । तर व्यवसायीले कामको प्रभाव न्यून भएको गुनासो गर्दै आएका छन् । लगानी गरेर ल्याएका केही बोट सञ्चालन गर्न नसकी थन्क्याउनुपरेको उनीहरूको भनाइ छ ।

यस्ता तथ्यहरुले सरकारी अध्ययन र खर्चको प्रत्यक्ष लाभ स्थानीय यात्रुले नपाएको देखिन्छ । पूर्वाधार निर्माणको योजना बनाउनु मात्रै पर्याप्त हुँदैन । त्यसको कार्यान्वयन, नियमित सञ्चालन र प्रभावकारिताको मूल्याङ्कन पनि हुनुपर्छ ।

सप्तकोशीमा व्यावसायिक बोट सञ्चालनले स्थानीय युवालाई रोजगारी दिएको छ । चालक, सहचालक र अन्य कर्मचारीका रूपमा काम गर्ने अवसर सिर्जना भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका कतिपय युवाले आफ्नै ठाउँमा सीप उपयोग गर्न पाएका छन् । व्यवसायीले जल पर्यटन र स्थानीय यातायातको सम्भावना देखेर लगानी गरेका छन् ।

तर आवश्यक पूर्वाधार र नीतिगत स्पष्टता नहुँदा यो सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । बोट सञ्चालनका लागि सुरक्षित घाट, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, पहुँचमार्ग र पार्किङजस्ता सुविधा चाहिन्छन् । बाढीले क्षति पुर्‍याएका संरचनाको मर्मत र नियमित सञ्चालनको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ ।

त्यससँगै बोट दर्ता, यात्रु तथा बोटको बीमा, चालकको योग्यता र कर व्यवस्थापनका विषयमा स्पष्ट नियम आवश्यक छ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको भए पनि स्थानीय नदीमा चल्ने बोटका लागि व्यावहारिक मापदण्ड र त्यसको कार्यान्वयन सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण छ ।

सप्तकोशीमा जल यातायातको विकासलाई समुद्रसम्म पानीजहाज पुर्‍याउने ठूलो योजनासँग मात्रै जोडेर हेर्ने होइन ।  चतरा, भोजपुर र नदी किनारका बस्तीबीच अहिले सञ्चालनमा रहेका बोटलाई सुरक्षित र भरपर्दो सेवा बनाउनु तत्कालको आवश्यकता हो ।

यसका लागि सरकारले बोटको प्राविधिक जाँच, यात्रु क्षमताको निर्धारण, चालकको सीप परीक्षण र अनुमतिपत्रको व्यवस्था गर्नुपर्छ । यात्रुले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ । दुर्घटना हुँदा तत्काल उद्धार गर्न सक्ने टोली र सञ्चार प्रणाली पनि तयार हुनुपर्छ ।

त्यस्तै, नदीको अवस्थाअनुसार सुरक्षित मार्ग पहिचान गरी बाढीपछि पुनः परीक्षण गर्नुपर्छ । जोखिमयुक्त ठाउँको पहिचान गर्ने र यात्रु चढ्ने तथा ओर्लने स्थानको सुधार गर्नुपर्छ । सरकारी अध्ययन, बजेट र पूर्वाधार निर्माणको प्रगति सार्वजनिक गर्दा स्थानीय तह, व्यवसायी र सर्वसाधारणले पनि त्यसको प्रभावकारिता मूल्याङ्कन गर्न सक्छन् ।

सप्तकोशीमा बोट चलाउने सीप स्थानीयसँग छ, यात्रु छन् र सम्भावना पनि छ । व्यवसायीले लगानी गरेका छन् । स्थानीय बासिन्दाले नदीलाई आवतजावतको माध्यम बनाएका छन् । अब यी प्रयासलाई सुरक्षित र व्यवस्थित सेवामा रूपान्तरण गर्ने जिम्मेवारी राज्यको हो ।

‘शेर्पा’देखि ‘सुम्निमा’ हुँदै ‘मकालु’ सम्मका दुर्घटनाले नदीमा जलयात्राको जोखिम सम्झाइरहेका छन् । प्रत्येक दुर्घटनापछि शोक व्यक्त गर्ने र केही समयपछि पुरानै अवस्थामा फर्किने क्रम रोक्न आवश्यक छ । सप्तकोशीको जलयात्रालाई निरन्तरता दिने हो भने त्यसको पहिलो सर्त यात्रुको सुरक्षा हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन

कङक्रिटले कुरुप : रामधुनी !