नेभिगेशन
पर्यटन

विश्व पर्यटन दिवसमा शिव डाँगीको हिमाल आरोहणको कथा, स्थानीय अर्थतन्त्रसँग कसरी जोड्ने ?

 धरान । पर्वतारोही शिव डाँगीले हिमाल आरोहणलाई साहसिक यात्रासँगै स्वास्थ्य, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । मनास्लु बेसक्याम्पको पछिल्लो यात्रादेखि सगरमाथा आरोहणसम्मका अनुभव सुनाउँदै उनले नेपालका हिमालमा विदेशी पर्यटकसँगै नेपालीलाई पनि आकर्षित गर्नुपर्नेमा जोड दिए ।

विश्व पर्यटन दिवसका अवसरमा सुनसरी उद्योग वाणिज्य संघ, धरानको आयोजना र पर्यटन कार्यालय धरान, इस्ट टुटिजम फाउन्डेसनको सहकार्यमा "पर्यटनका लागि हिमाल तराई सम्बन्ध" विषयक अन्तर्कृया आरोही डाँगीले हिमाललाई स्थानीय पर्यटन र अर्थतन्त्रसँग जोड्नु पर्ने बताए । 

डाँगीका अनुसार मनास्लु बेसक्याम्प पुग्ने योजना उनले बाटो अवरुद्ध भएको समाचार देखेपछि बनाएका थिए । गोर्खातर्फको पुल भत्किएकाले मनास्लु जान नसकिने खबर आए पनि लमजुङ, गोर्खा र मनाङ हुँदै ५ हजार १ सय मिटर उचाइको लार्के पास पारेर पुग्न सकिने जानकारी पाएपछि उनी २५ गते काठमाडौँबाट पोखरा हुँदै यात्रामा निस्किएका थिए । मनाङबाट पैदल यात्रा सुरु गरेका उनी छ दिन हिँडेर मनास्लु बेसक्याम्प पुगे । त्यहाँ करिब ३ हजार ५ सयदेखि ४ हजार टेन्ट देखेको उनले बताए । उकालो चढ्दै गर्दा बाटो नसकिने जस्तो लागे पनि उचाइमा पुगेपछि संसार जितेजस्तो अनुभूति हुने उनको भनाइ छ ।

यात्राका क्रममा क्यानाडाका एक आरोहीसँग भेट भएको उनले सुनाए । ती आरोहीले अघिल्लो वर्ष करिब एक करोड रुपैयाँ खर्च गरेर पनि मनास्लु आरोहण गर्न नसकेपछि यसपटक पुनः आएको डाँगीले बताए ।

४८ घण्टाको हिमपातले रोकियो मनास्लु आरोहण

मनास्लु बेसक्याम्पमा यसपटक आरोहणको तयारीमा रहेका सयौँ विदेशी र शेर्पा टोलीलाई लगातारको हिमपातले रोकिदियो । डाँगीका अनुसार असोज २ गते आरोहणको बाटो बनाउने शेर्पा टोलीले चट्टान र हिउँमा फलामका किला ठोकेर डोरी टाँग्दै बाटो तयार गरिरहेको थियो । त्यहाँ ५५१ जना विदेशी आरोही र उनीहरूलाई आरोहणमा सहयोग गर्ने करिब ७ सय शेर्पा तयार थिए ।

तर असोज २ गते बेलुकादेखि करिब ४८ घण्टासम्म लगातार भीषण हिमपात भएपछि बेसक्याम्प नै हिउँले पुरियो । त्यसपछि माथिल्लो क्षेत्रमा जाने अवस्था रहेन र अनुमति लिएका ५५१ जना आरोहीले यसपटक मनास्लुको चुचुरो पुग्न नसकेको उनले बताए ।

बेसक्याम्पमा गोर्खाकी पाण्डे थरकी एक नर्ससँग पनि भेट भएको डाँगीले सुनाए । अरबको राजपरिवारका एक सदस्यले मनास्लुको सौन्दर्यबारे गरेको वर्णनबाट प्रभावित भएर उनी आरोहणका लागि आएको डाँगीले बताए ।

हिमालले दिन सक्ने पर्यटनको सम्भावना

डाँगीले नेपालका हिमाललाई पर्यटनको ठूलो आधारका रूपमा विकास गर्न सकिने बताए । सगरमाथाको यात्रामा लुक्ला पुगेपछि विदेशी पर्यटकको उत्साह र लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्मको प्राकृतिक सौन्दर्यले आफूलाई सधैँ प्रभावित पार्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार सगरमाथा आरोहणका लागि विदेशीले १५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । मनास्लु आरोहणका लागि ३ हजार डलर र बेसक्याम्पसम्म पुग्न १ हजार ५ सय डलरसम्म खर्च हुने उनले बताए ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये पाँच वटा र ६ हजार मिटरभन्दा अग्ला १३ हजारभन्दा बढी हिमाल रहेको क्षेत्र नेपालको पर्यटनका लागि महत्वपूर्ण आधार भएको डाँगीको भनाइ छ । संखुवासभाको मकालु क्षेत्रका शेर्पाले हिमाल आरोहण व्यवसायमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उनले विश्व कीर्तिमान कायम गर्ने धेरै आरोही पनि यही क्षेत्रबाट आएको बताए ।

1000239272-1790503137.jpg
‘बेसक्याम्प पुगौँ, स्वस्थ बनौँ’

डाँगीले हिमाललाई विदेशी पर्यटकको गन्तव्य मात्र नभई नेपालीका लागि स्वास्थ्य र साहसिक पर्यटनको माध्यम बनाउनुपर्ने बताए ।

उनले ‘बेसक्याम्प पुगौँ, स्वस्थ बनौँ’ अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारे । उनका अनुसार फागुनदेखि जेठसम्म बेसक्याम्प यात्राका लागि उपयुक्त समय हो । सडकबाट गाडीमा गएर पैदल यात्रा सुरु गरेपछि पाँचदेखि सात दिनमा विभिन्न बेसक्याम्प पुग्न सकिने र दुईदेखि तीन घण्टाको दूरीमा बस्ने तथा खाने व्यवस्था हुने उनले बताए ।

लामो यात्राका लागि पहिले नै शारीरिक तयारी गर्नुपर्नेमा जोड दिँदै उनले कम्तीमा छ महिनाअघिदेखि अभ्यास सुरु गर्न सुझाव दिए । भेडेटारलगायतका उकालो क्षेत्रमा नियमित हिँड्ने अभ्यासले बेसक्याम्प यात्राका लागि शरीर तयार पार्न सकिने उनको भनाइ छ ।

‘मरे मरिन्छ, चुचुरो पुग्छु’

डाँगीले आफ्नो सगरमाथा आरोहणलाई जीवनकै जोखिमपूर्ण यात्राका रूपमा सम्झिए । एक वर्षको तयारीपछि फागुन १९ गते काठमाडौँबाट लुक्ला उडेर सगरमाथा यात्रा सुरु गरेको उनले बताए ।

सगरमाथा आरोहणअघि ६ हजार १ सय मिटर अग्लो आइल्यान्ड पिक चढेको र त्यसपछि सगरमाथा बेसक्याम्पबाट आरोहण सुरु गरेको उनले बताए । उनका अनुसार क्याम्प–१ पुग्ने खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमपूर्णमध्ये एक हो । त्यहाँ हिमखाडल पार गर्न भर्याङको सहारा लिनुपर्छ । क्याम्प–३ करिब ७ हजार १ सय मिटरको उचाइमा रहेको र त्यहाँ झुन्डिएरै चढ्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

जेठ १३ गते चुचुरो पुग्ने लक्ष्यसहित उनी क्याम्प–४ अर्थात् करिब ८ हजार ४ सय मिटर उचाइमा पुगेका थिए । साँझ ६ बजे चुचुरोतर्फ अघि बढ्ने तयारी गरिरहेका बेला उनका शेर्पा साथी बिरामी परेपछि फर्किए । त्यसपछि दुईवटा अक्सिजन सिलिन्डरमध्ये एउटा आफैँ बोकेर उनी एक्लै अघि बढे ।

रातको यात्राका क्रममा बाटोमा पुराना शव देखिन्थे । मध्यराति १२ः३० बजे साउथ समिटमा पुगेर अक्सिजन सिलिन्डर फेरे । त्यसबेला साथी शिव सापकोटाले फर्किन सुझाव दिएको उनले बताए । तर आफूले चुचुरो पुग्ने दृढता नछाडेको डाँगीको भनाइ छ ।

हिलारी स्टेप पार गर्ने क्रममा सांसद तथा नेता युवराज दुलालसँग भेट भएको उनले बताए । अन्ततः जेठ १३ गते बिहान ठीक ६ बजे आफू सगरमाथाको चुचुरोमा पुगेको डाँगीले सुनाए ।

‘चुचुरोमा पुग्दा संसार जितेजस्तो’

डाँगीका अनुसार सगरमाथाको चुचुरोमा एकैपटक करिब ५० देखि ६० जना मानिस अट्ने ठाउँ छ । त्यहाँबाट बादल र अन्य हिमाल तल देखिने भएकाले संसार नै जितेजस्तो अनुभूति हुने उनले बताए ।

चुचुरोमा करिब १५ मिनेट बिताएपछि अक्सिजनको प्रेसर घटाएर तल झर्न थालेका उनले बताए । तर फर्किने क्रममा फेरि अक्सिजनको अभावले ज्यान जोखिममा परेको उनको अनुभव छ ।

हिलारी स्टेपको तल सहयात्री र शेर्पासँग भेट हुँदा उनीहरूसँग आधा सिलिन्डर अक्सिजन बाँकी रहेको र त्यसैबाट आफ्नो अक्सिजन जोडिदिएपछि ज्यान जोगिएको डाँगीले बताए । नेपालका हिमाल र प्राकृतिक सम्पदाको योजनाबद्ध तथा प्रभावकारी प्रवर्द्धन गर्न सके कोशी प्रदेशसँगै समग्र देशको पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनको भनाइ छ । 

हिमाल आरोहणलाई विदेशी पर्यटकमा मात्र सीमित नराखी नेपाली युवालाई साहसिक पर्यटनसँग जोड्न सके पर्यटनसँगै स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन

कङक्रिटले कुरुप : रामधुनी !