नेभिगेशन
समाचार

विराटनगरमा मापदण्डविपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी

विराटनगर । विराटनगरको हस्पिटल चोकमा मापदण्डविपरीत सञ्चालन भइरहेका तीनवटा फार्मेसीमा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।

मङ्गलबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि औषधि व्यवस्था विभागले ‘इमान फार्मेसी’, ‘खुश फार्मेसी’ र ‘सुरेश फार्मेसी’ मा सिलबन्दी गरेको हो ।

औषधि पसल नवीकरण नगरेको, विभागको अनुमतिविना ठाउँसारी गरेको र औषधि अनुचित रूपमा भण्डारण गरेको पाइएपछि ती फार्मेसीमा सिलबन्दी गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काले जानकारी दिए ।

निरीक्षक खड्काका अनुसार ‘खुश फार्मेसी’ मा अनुगमनका क्रममा व्यवसायी तथा फार्मासिस्ट अनुपस्थित रहेको, औषधि विज्ञ नभएको र दर्ता नभएका औषधिसमेत बिक्रीका लागि राखिएको पाइएको थियो । त्यसपछि उक्त फार्मेसीमा सिलबन्दी गरिएको हो ।

त्यस्तै, ‘इमान फार्मेसी’ को नवीकरण म्याद सकिएको र विभागबाट स्वीकृति नलिई ठाउँसारी गरेर सञ्चालन गरिएको पाइएको थियो ।

‘सुरेश फार्मेसी’ ले भने २०७५ सालदेखि नै नवीकरण नगरी पसल सञ्चालन गर्दै आएको अनुगमनका क्रममा फेला परेको थियो । गम्भीर कैफियत देखिएपछि तीनवटै फार्मेसीमा तत्काल सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।

फार्मेसी निरीक्षक खड्काले भने, “सुरेश फार्मेसीले २०७५ सालदेखि नवीकरण नगरेको पाइयो । औषधि ऐनको संशोधित व्यवस्थाअनुसार पसलको म्याद सकिएको ३० दिनभित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ । सो अवधिभित्र नवीकरण नगरे पसल स्वतः विनादर्ता ठहरिन्छ । त्यसैले हामीले कानुनबमोजिम सिलबन्दी गरेका हौँ ।”

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको संयुक्त अनुगमनमा औषधि व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालय विराटनगरका प्रतिनिधि सहभागी थिए ।

अनुगमनका क्रममा बिलबिजक दुरुस्त नराखेका केही औषधि पसललाई राजस्व अनुसन्धान कार्यालयले जरिवानासमेत गरेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार