नेभिगेशन
समाचार

तमोर करिडोरको प्रस्थान विन्दुमा टालटुले काम, आयोजनालाई हस्तान्तरण भएन, सांसदको ध्यानाकर्षण

धरान । चतराघाटबाट सुनसरीको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र जाने बाटो पहिरोका कारण बन्द हुँदै आएको छ । 

तमोर करिडोर जोड्ने चतराघाट-वराहक्षेत्र सडक खण्डको 'सत्र नम्बर भीर' लगायतमा बर्खा र हिउँदमा समेत बारम्बार पहिरो जाने भएकाले सडक पूर्णरूपमा बन्द हुँदै आएको छ । तीर्थयात्रीहरू जोखिम मोलेरै हिंडिरहेका देखिन्छन् ।

प्रसिद्ध तीर्थस्थल वराह भगवानको मन्दिर पुग्ने सडक जहिल्यै जीर्ण हुँदै आएको छ । स्तरोन्नतिका नाममा टालटुले काम भए पनि फराकिलो, चौडा र पक्की बन्न नसक्दा स्थानीय र भक्तजनले जहिल्यै सास्ती भोग्नु परेको गुनासो गरेका छन् । 

यो सडक 'सडक डिभिजन कार्यालय विराटनगर' ले स्तरोन्नति गर्दै आएको छ । स्तरोन्नतिको नाममा 'टालटुले काम' मात्रै हुँदै आएको छ,' वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले भने, 'सडकलाई फराकिलो, चौडा र पक्की रुपमा बनाउने काम हुन सकेको छैन ।'

Tamor-Corridor-Chatara-Barahakshetra-Road-(2)-1790844098.jpeg
'तमोर करिडोरलाई हस्तान्तरण भएन'

सुनसरीको धरानबाट झण्डै २० किलोमिटर, चतरा बजारबाट सात किलोमिटर र चतराघाटबाट ४ किलोमिटरको दूरीमा रहेको 'वराहक्षेत्र' तमोर करिडोरअन्तर्गत पर्छ । चतराबाट सुभाङखोलासम्म तमोर करिडोर सडक बन्ने भएपछि आयोजनाले काम गरिरहेको छ । चतराघाटदेखि वराहक्षेत्रसम्म केही खोलामा पक्की पुल निर्माण भइरहेको छ । तमोर करिडोर आयोजनाले उक्त सडक खण्डको बाहुनी खोला र धनसार खोलामा पुल निर्माण गरेको छ ।  तर सडक निर्माणको काम भने सुरु भएको छैन । 

सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले तमोर करिडोरलाई यो सडक हस्तान्तरण गरेपछि मात्र काम गर्न सकिने तमोर करिडोर आयोजनाले जनाएको छ । तमोर करिडोरका इन्जिनियर तथा सूचना अधिकारी एल बी बिकेले तमोर करिडोरलाई हस्तान्तरण भए करिडोर अन्तर्गत नै काम हुने बताए । उनले सडक खण्डका पुल निर्माणको काम भएको जानकारी दिए । 'कोशी पुलदेखि-वराहक्षेत्र गेटसम्म तमोर करिडोर चेनेजअन्तर्गत पर्ने भएपनि यो क्षेत्रमा सडक डिभिजन कार्यालयले मर्मतको काम गर्दै आएको छ ।' सूचना अधिकारी बिकेले भने,'योजना कार्यालयलाई हस्तान्तर गर्ने हो भने योजनाले सडक विस्तार गर्ने काम गर्थ्यो ।'

सडक डिभिजन कार्यालय विराटनगरले मर्मतको काम मात्रै गर्ने गरेको छ । उक्त सडक खण्ड मर्मत भन्दा पनि नयाँ विस्तार गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । 'नीतिगत रुपमै उक्त चेनेज हस्तारण गर्नुपर्ने हुन्छ । बाहुनी खोला र धनसार खोला दायाँ बायाँ १०० मिटर मात्र तत्कालको हाम्रो क्षेत्राधिकार हो ।' तमोर करिडोरका सूचना अधिकार बिकेले भने ।  

Tamor-Corridor-Chatara-Barahakshetra-Road-(3)-1790844097.jpeg
तमोर करिडोरलाई हस्तान्तरण गर्न माग

सप्तकोसी पुलदेखि धार्मिकस्थल वराहक्षेत्र मन्दिरसम्मको सडकलाई तमोर करिडोर सडक आयोजनाको क्षेत्राधिकारमा ल्याएर निर्माण तथा स्तरोन्नति गर्न माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर सभापति सुमन श्रेष्ठसहितको टोलीले संघीय प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठलाई निवेदन दिँदै लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त सडकलाई दीर्घकालीन समाधानसहित निर्माण गर्न तमोर करिडोर आयोजनालाई पूर्ण रूपमा हस्तान्तरण गर्न अनुरोध गरेका छन् ।

श्रेष्ठका अनुसार चतरा पुलदेखि ताप्लेजुङसम्मको सडक तमोर करिडोरको चेनेजमा रहे पनि पुलदेखि वराहक्षेत्र मन्दिरसम्मको खण्ड भने पूर्ण रूपमा आयोजनालाई हस्तान्तरण नभई सडक डिभिजन कार्यालय मोरङको क्षेत्राधिकारमा राखिएको छ । त्यसका कारण उक्त सडकमा बर्सेनि मर्मतको काम हुँदै आए पनि दीर्घकालीन सुधार हुन नसकेको उनको भनाइ छ ।

श्रेष्ठसहितको टोलीले बुझाएको निवेदनमा सडकको खण्ड पटकपटक मर्मत गर्दा राज्यको लगानी दीर्घकालीन उपलब्धिविना खर्च भइरहेको उल्लेख गरिएको छ । पुलदेखि वराहक्षेत्र मन्दिरसम्मको सडकको भौगोलिक अवस्था चतरा बजारतर्फको सडकसँग मिल्दोजुल्दो रहे पनि निर्माण तथा स्तरोन्नतिको अवस्थामा भने फरक रहेको छ ।

Tamor-Corridor-Chatara-Barahakshetra-Road-(4)-1790844100.jpeg
वराहक्षेत्र धार्मिक तथा आन्तरिक र बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य भएकाले सडकको अवस्थाले तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष असर गरिरहेको निवेदनमा उल्लेख छ । सो क्षेत्रमा हरेक वर्ष ठूलो संख्यामा तीर्थालु तथा पर्यटक आउने र त्यसबाट स्थानीय तथा राज्यस्तरमा आम्दानीसमेत सिर्जना हुँदै आएको जनाइएको छ ।

सभापति श्रेष्ठले कोशी पुलदेखि वराहक्षेत्र मन्दिरसम्मको सडक निर्माणका लागि तमोर करिडोरजस्तो आयोजनालाई पूर्ण रूपमा जिम्मेवारी दिनुपर्ने बताएका छन् । त्यसका लागि सम्बन्धित मन्त्रालयमार्फत सडक विभाग हुँदै सडक डिभिजन कार्यालय मोरङमा पत्राचार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउन पनि उनले अनुरोध गरेका छन् । निवेदनको बोधार्थ संघीय पूर्वाधार विकास मन्त्रालयमा पठाइएको छ । सभापति श्रेष्ठले सरकारले यो सडक निर्माणका लागि गम्भीरतापूर्वक लिएको आफूले जानकारी पाएको बताए ।

चतरा-वराहक्षेत्र सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहे पनि दिगो रुपमा स्तरोन्नित र विस्तार हुन सकेको छैन ।  यो क्षेत्रमा वार्षिक लाखौं नेपाली, भारतीय तथा  भुटानी पर्यटकहरु आउने गरेका छन् । वर्षमा आधादर्जन बढी धार्मिक मेला लाग्ने वराहक्षेत्र सडककै कारण दुर्गम बनेको छ । यो सडक खण्ड तराईलाई हिमालसँग जोड्ने तमोर करिडोरको प्रस्थान विन्दुसमेत हो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार