नेभिगेशन
समाचार

सिडिओको निर्देशनमा विराटनगरमा प्रहरीको आकस्मिक अपरेशन

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई गोप्य सूचना आएपछि विराटनगरको एक होटलमा प्रहरीले आकस्मिक अपरेशन चलाएको छ ।

विराटनगर–१३ मलाया रोडस्थित नाम नखुलेको एक होटल र त्यसको पछाडिको घरमा अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले बिहीबार दिउँसो दुई किशोरीको उद्धार गरेको छ । प्रहरीले होटल सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको बूढीगङ्गा गाउँपालिका–२ का ४२ वर्षीय मोहम्मद प्रवेज आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार आलमले नामसमेत नराखी होटल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनले होटल पछाडिको रामनारायण साहको घर भाडामा लिएर अवैध यौनधन्दा सञ्चालन गर्दै आएका थिए ।
उक्त होटलमा पहाडी जिल्लाबाट विभिन्न प्रलोभनमा किशोरीहरूलाई ल्याएर बन्धकजस्तै अवस्थामा राखी सीमापारिबाट आउने ग्राहकसँग अवैध यौनधन्दामा लगाउने गरिएको सूचना मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई म्यासेजमार्फत प्राप्त भएको थियो ।

सूचना पाएलगत्तै सिडिओ कट्टेलले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई तत्काल छापा मार्न निर्देशन दिएका थिए । त्यसपछि एसपी कटुवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको नेतृत्वमा खटिएको संयुक्त टोलीले होटलमा आकस्मिक अपरेशन गरेको थियो ।

सीमा नजिकै रहेको उक्त होटल केही दिनअघि मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ । होटलमा अवैध रूपमा मदिरा बिक्री हुने गरेको र मदिरा सेवनका लागि सीमापारिबाट आउने भारतीय नागरिकलाई लक्षित गरी यौनधन्दा सञ्चालन गरिएको स्थानीयको भनाइ छ ।

‘होटलमा अवैध गतिविधि भइरहेको विशेष सूचनाका आधारमा हामीले तत्काल अपरेशन चलाएका हौँ,’ एसपी कटुवालले भने, ‘दुई जना किशोरीको उद्धार गरिएको छ र अवैध धन्दा सञ्चालन गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।’

प्रहरीले उद्धार गरिएका किशोरीहरूको पहिचान गोप्य राखेको छ । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार