नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

पत्रकारिताबाट राजनीतितर्फ अर्जुन आचार्य, कानेपोखरी अध्यक्षमा दाबेदारी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष बन्ने तयारीसहित पत्रकार अर्जुन आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'क्यान्डिडेट क्लब' मा आबद्ध भएका छन् । 

आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यसहित उनले पार्टीको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत केही महिनाअघि नै आवेदन दिएका हुन् ।

कानेपोखरी गाउँपालिका-४, भंसवारी स्थायी घर भएका आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल अनलाइन समाचार पोर्टल रातोपाटी डटकममा आर्थिक, संसदीय मामिला, खोजमूलक तथा समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

पत्रकारितामार्फत सार्वजनिक सरोकारका विषय उठाउँदै आएका आचार्य अब स्थानीय तहको नेतृत्वमा पुगेर विकास र नीतिनिर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने योजनामा छन् । उनले कानेपोखरी गाउँपालिकाको समग्र विकासका लागि स्पष्ट खाका आफूसँग रहेको दाबी गरेका छन् ।

'स्थानीय तहमा अझै पनि आधारभूत आवश्यकताको न्यायोचित वितरण हुन सकेको छैन,' आचार्यले भने, 'गाउँपालिकाको नेतृत्वमा पुगेर शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा योजनाबद्ध तथा नतिजामुखी काम गर्ने मेरो मुख्य उद्देश्य हो ।'

रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै 'क्यान्डिडेट क्लब' मार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको विवरण सङ्कलन तथा उम्मेदवार छनोटको तयारी गरिरहेको छ । सोही प्रक्रियामा सहभागी भएका आचार्य कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका हुन् ।

यद्यपि, 'क्यान्डिडेट क्लब' मा आबद्ध हुनु उम्मेदवारीको अन्तिम टुङ्गो लाग्नु होइन । पार्टीको छनोट प्रक्रिया पूरा भएपछि मात्रै उनको उम्मेदवारीबारे अन्तिम निर्णय हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार