नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

पर्यटक भिसामा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली नागरिक पक्राउ

विराटनगर । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार तथा प्रशिक्षणमा संलग्न भएको आरोपमा प्रहरीले २४ जना दक्षिण कोरियाली नागरिकलाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित ‘नेपाल न्यू कोभेनन्ट कलेज’मा शुक्रबार आयोजित धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आइपुगेका थिए । उनीहरू अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिका रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले पर्यटक भिसाको दुरुपयोग गरी धर्म प्रचारमा संलग्न भएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।
‘पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न भएको पाइयो,’ कटवालले भने, ‘नेपालको कानुनअनुसार एउटा उद्देश्य (पर्यटन) लिएर आएर अर्को गतिविधि गर्न पाइँदैन ।’

‘लभ नेपाल मिसन’को सहयोगमा सञ्चालित उक्त कलेजमा क्रिश्चियन धर्मशास्त्रसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका २४ जना कोरियाली नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभागको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार