नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

धरानमा आगलागी नियन्त्रण र उद्धारको संयुक्त अभ्यास

धरान । आगलागीका बेला तत्काल उद्धार, उपचार र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सुनसरीको धरानमा सुरक्षा निकाय तथा स्थानीय तहका टोलीले संयुक्त नमुना अभ्यास गरेका छन् ।

नेपाली सेना श्री भगवतीदल गणको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा शुक्रबार धरान उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र परिसरमा अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, धरान उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रण, बारुणयन्त्रको प्रयोग, घाइतेको उद्धार तथा प्राथमिक उपचारको व्यावहारिक प्रदर्शन गरेका थिए ।

श्री भगवतीदल गणका गणपति देवराज भट्टका अनुसार सुख्खायाम र चाडपर्वका समयमा विद्युत् सर्ट, ग्यास चुहावट, मानवीय लापरवाही तथा औद्योगिक दुर्घटनाबाट आगलागीको जोखिम बढ्ने भएकाले सम्भावित क्षति न्यूनीकरण र आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन अभ्यास गरिएको हो ।

अभ्यासअघि सम्भावित आगलागी तथा अन्य विपद्का घटनामा सूचना प्रवाह, विभिन्न निकायबीच समन्वय, निर्णय प्रक्रिया, स्रोतसाधनको पहिचान तथा परिचालन, उद्धार र राहत व्यवस्थापन, घाइतेको उपचार, सुरक्षा व्यवस्थापन र जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो ।

यस्ता अभ्यासले विपद्का बेला सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य सुदृढ गर्नुका साथै उद्धार तथा प्रतिकार्यको तयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गणपति भट्टले बताए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आगलागीलगायत विपद्बाट हुने क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतना र पूर्वतयारी आवश्यक रहेको बताए ।
उनले आगलागी भइहालेमा तत्काल नियन्त्रण गर्ने, सम्भावित क्षति घटाउने तथा घाइतेको उद्धार र उपचार गर्ने तरिकाबारे जानकारी दिन यस्ता अभ्यास उपयोगी हुने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्ल, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरका प्रमुख लबकुमार सापकोटा, राष्ट्रिय अनुसन्धानका निर्देशक विमल घिमिरे र धरान औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बन्जाडेलगायत विभिन्न निकायका प्रमुखहरूको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार