नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

बुढीगंगामा पौने ९ करोड लागतमा प्रशासनिक भवन निर्माण, सेवा सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन सोमबारदेखि सञ्चालनमा आएको छ । गाउँपालिका–५ मा ९ कठ्ठा २ धुर जग्गामा निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै अध्यक्ष थापा मगरले नयाँ भवनबाट नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने बताए । गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारले सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईका अनुसार संघीय र स्थानीय सरकारको साझेदारीमा ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँ २३ पैसा (मूल्य अभिवृद्धि करसहित) लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणका लागि धरान–१३, सुनसरीस्थित ब्राइट ब्लु निर्माण सेवासँग सम्झौता गरिएको थियो । निर्माण कम्पनीलाई हालसम्म ७ करोड ५५ लाख ५ सय ५५ रुपैयाँ १६ पैसा भुक्तानी भइसकेको र बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको भट्टराईले जानकारी दिए । उनका अनुसार नयाँ भवनले गाउँपालिकाको संस्थागत विकास र प्रशासनिक सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार