नेभिगेशन
समाचार

वराहक्षेत्र कार्तिके मेला यो वर्ष मङ्सिर ४ गतेबाट, कार्तिक स्नान र निशान यात्रा मुख्य आकर्षण 

धरान । सुनसरीको वराहक्षेत्रस्थित सप्तकोशी नदीमा कार्तिक स्नान र वराह भगवानको पूजा आरधना गरी मनाइने महापर्व कार्तिके मेला आगामी मङ्सिर ४ गतेबाट सुरु हुने भएको छ ।

हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने धार्मिक मेला यस क्षेत्रकै सबैभन्दा ठूलो र महापर्वका रुपमा लिइन्छ । पण्डित योगेश भण्डारीका अनुसार  यो पर्वमा भक्तिपूर्वक उपवास गर्नाले ऐश्वर्य, सम्पत्ति, उत्तम बुद्धि, राज्य तथा सुख पाउन सकिने धार्मिक मान्यता छ । कार्तिक महिनामा पापमोचनी सप्तकौशिकी नदीमा स्नान गरी भगवान् वराहको दर्शन गर्नाले पूण्य प्राप्त हुनेछ ।  भगवानलाई तुलसी पत्र, फूल अर्पण गरी भक्तिपूर्वक पूजा गर्नाले र तुलसीको दर्शन, स्पर्शन, ध्यान, नाम कीर्तन, स्तवन, अर्पण, सेचन, नित्य पूजन गर्नाले कोटीसहस्र युगसम्म पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । 

पण्डित भण्डारीका अनुसार कार्तिक महिना भगवान् विष्णुसँग सम्बन्धित महिना हो, यो महिनालाई दामोदर महिना पनि भनिन्छ । यो महिना दीप-दानको अत्यन्त ठूलो महत्त्व रहेको छ । संगम स्नान, तीर्थ स्नान विशेष गरी नदी किनाराका तीर्थहरुको स्नानको अत्यन्त ठूलो महिमा रहेको छ । परापूर्वकालदेखि नै वराहक्षेत्रमा पनि हरिबोधनी एकादशी मेला लाग्दै आएको छ । धर्तीको पहिलो तीर्थका रुपमा अवस्थित अत्यन्तै ठूलो धार्मिक महत्त्व बोकेको वराह तीर्थमा अवस्थित सप्तकोशी नदीको स्नान र भगवान् वराहको दर्शन गर्नुको विशेष महत्त्व छ ।  

वराहक्षेत्रमा नेपालका विभिन्न स्थान र सबैभन्दा बढी भारतबाट तीर्थालुहरु आउने गरेका छन् । भारतका बिहार, बंगाल, उत्तर प्रदेश, आसाम राज्यबाट धेरै भक्तजन आउने गरेका छन् । यही मेलाको बीचमा त्रयोदशीका दिन वराहक्षेत्रमा प्राचीन तपोस्थली औलिया मठबाट निशान लिएर आउने गरिन्छ । 

यो निशान यात्राको पनि ठूलो धार्मिक महत्त्व छ । निशान यात्रामा नागाबाबा, साधु सन्यासीको उल्लेखनीय सहभागिता रहन्छ । उहिले-उहिले निशान यात्रामा महन्तको नेतृत्वमा हात्ती घोडा पाल्कीसमेत भई साधुसन्यासीसहितको ठूलो जात्रा हुने गर्थ्यो । तर देशको परिस्थितिका र राज्यको सहयोग नहुँदा यो जात्रा कर्मकाण्डीमात्रै बन्दै गएको छ । एकादशीबाट सुरु भएको मेला द्वादशीसम्म सामान्य रहन्छ । त्रयोदशीपछि भक्तजनको अत्यन्तै भीडभाड हुने गरेको छ । पूर्णिमा स्नानपछि यो वर्षको कार्तिक स्नान पनि समापन हुन्छ । 

Nishan-yatra-auliya-math-1792824089.jpg
धार्मिक कथा अनुसार परापूर्वकालमा भगवान् ब्रह्माको वंशमा तालजङ्घ नामका डरलाग्दा असुरको जन्म भयो । उनका छोरा मुर चन्द्रावती नामको नगरमा बस्थे । मुर अत्यन्त पराक्रमी थिए । आफ्नो वीरताका कारण उनी तीनै लोकमा प्रसिद्ध भए ।

एक पटक मुरले स्वर्गमा आक्रमण गरी देवताहरूलाई पराजित गरे । र, त्यहाँबाट लखेटे । उनले स्वर्गमा आफ्नो एकछत्र शासन कायम गरे । अग्नि, चन्द्र, सूर्य, वायु र वरुणजस्ता देवतालाई समेत पदच्युत गरी नयाँ व्यवस्था लागू गरे । मुरको अत्याचारबाट मुक्ति पाउन देवताहरू महादेवकहाँ सल्लाह लिन गए । महादेवले देवताहरूलाई क्षीरसागरमा शयन गरिरहेका भगवान् विष्णुको स्तुति गर्न सुझाव दिए । देवताहरूले स्तुति गरेपछि विष्णु प्रसन्न भई जागे ।

सबै देवताहरूलाई साथमा लिएर भगवान् विष्णु चन्द्रावती नगर पुगे । त्यहाँ दानवहरूको संहार गरेपछि उनले बदरिकाश्रमस्थित सिंहावती गुफामा गएर विश्राम लिए । यता मुर नामका दैत्यले विष्णुको पिछा गर्दै गुफाभित्र प्रवेश गर्‍यो । उसले सुतेका विष्णुलाई मार्न खोज्यो । त्यही बेला विष्णुको शरीरबाट अत्यन्त रूपवती र दिव्य अस्त्रशस्त्रले सुसज्जित एक कन्या प्रकट भइन् । भगवान् विष्णुको तेजको अंशबाट जन्मिएकी ती कन्याले मुर दानवलाई युद्धका लागि चुनौती दिइन् । दुवैबीच घमासान युद्ध भयो । अन्ततः कन्याले मुरलाई पराजित गरिन् । मुरको शरीर खरानीको थुप्रोमा परिणत भयो ।

त्यसपछि भगवान् विष्णु बिउँझिए । कन्याको वीरताबाट प्रभावित भएर उनले कन्यालाई वरदान माग्न भने । कन्याले भनिन्, 'प्रभु, यदि हजुर साँच्चै प्रसन्न हुनुहुन्छ भने आफ्नो कृपाले मलाई सबै तीर्थमध्ये श्रेष्ठ, विघ्नबाधा नाश गर्ने र सबै प्रकारका सिद्धि प्रदान गर्ने देवी बन्ने वरदान दिनुहोस् ।' विष्णुले कन्याको प्रार्थना स्वीकार गरी वरदान दिए । तिनै रूपवती र वीर कन्या एकादशीका नामले संसारभर प्रसिद्ध भइन् ।

एकादशी पर्व 'हरि' (भगवान् विष्णु) जागा हुने र मानव मनमष्तिष्क जाग्रृत गराउने पर्वका रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिन चतुर्मासभर पूजा गरिएको तुलसीको मठमा भगवान् विष्णुको प्रतीक (शाालिग्राम) सँग विधिपूर्वक विवाह गरिन्छ । भविष्योत्तर पुराण र धार्मिक ग्रन्थहरूका अनुसार हरिबोधनी एकादशीको व्रत र उपासना अन्य एकादशीको तुलनामा धेरै गुणा बढी फलदायी हुन्छ । यसको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय यज्ञ गरे बराबरको पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यस दिन सनातन धर्मावलम्बीहरू निराहार वा फलफूल तथा कन्दमूल मात्र खाएर भगवान् विष्णुको पूजा–आराधना गर्छन् । यो एकादशीलाई प्रबोधिनी एकादशी वा ठूलो एकादशी पनि भनिन्छ ।

auliya-math-1792824118.jpg
तुलसी विवाहका सम्बन्धमा एउटा धार्मिक कथा प्रचलित छ : 

कालनेमि नाम गरेका दैत्यले आफ्नी छोरी वृन्दालाई जालन्धर नामक दानवसित बिहे गरिदिए छन् । समुद्र मन्थन गरेको बेला महादेवको पसिनाबाट जालन्धरको जन्म भएको थियो । त्यति बेला महादेवको कुनै कुरामा स्वर्गका राजा इन्द्रले अपमान गरेका थिए । त्यसै भएर जालन्धरले आफू समुद्रबाट जन्मिएको हुँदा महासागरबाट उत्पन्न भएका १४ रत्न इन्द्रसित माग्यो । अनि इन्द्रले दिन आनाकानी गरेछि उसले ब्रह्माको घोर तपस्या गर्‍यो । ब्रह्मा प्रसन्न भएर जालन्धरलाई वरदान दिए ।  'जबसम्म तिम्रो स्त्री तिमीलाई छोडेर कुनै परपुरुषसित सम्बन्ध राख्दिनन् तब तिम्रो मृत्यु असम्भव छ ।'  वरदान पाएपछि जालन्धरले  इन्द्रलोकमा आक्रमण गरी अमरावती विजय गर्‍यो । 

सबै देवताहरूको भागदौड मच्चियो । विष्णु भगवान् ज्यान बचाउन वैकुण्ठलोक पुगी लुके । आफ्नी परम प्रिया लक्ष्मीलाई सबै हाल बताउँदै उपायबारे लक्ष्मीसित अनुरोध गरे । लक्ष्मीले विष्णुसित वृन्दाको सती बलबारे बताइन् । सतीशिरोमणि वृन्दाको सतीत्व नष्ट गर्न देवगण असफल भएपछि स्वयम् विष्णु भगवान् जालन्धरको रूप लिएर गई सतीत्व हरण गरे । लगत्तै इन्द्रले जालन्धरको टाउको काटेर वृन्दाको आँगनमा खसालिदिए । यो थाहा भएछि वृन्दाले विष्णुलाई श्राप दिइन् । विष्णु कालो ढुङ्गा बने । त्यसै बेलादेखि विष्णु शालिग्राम बने भने वृन्दा तुलसी भइन् । तहाँ उप्रान्त तुलसी रूपी वृन्दाको विवाह बर्सेनि गर्ने प्रचलन भएको शास्त्रीय मान्यता छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार