नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

सशस्त्र प्रहरीद्वारा चाडपर्वलक्षित सीमा-नाका निरीक्षण

सुनसरी । चाडपर्वको समयमा सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल पकलीले सीमा नाकाको अवलोकन गरेको छ । 

चाडपर्वका बेला सीमावर्ती नाकामा हुने आवतजावतलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले शनिबार सुनसरीका विभिन्न सीमा नाकाको अवलोकन तथा निरीक्षण गर्दै सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिइएको पकलीस्थित बाहिनीपति डीआईजी मनिष थापाले जानकारी दिए । 

उनले सीमावर्ती नाकामा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सीमा वारपार गर्ने नागरिकको आवतजावतलाई सहजीकरण गर्न निर्देशन दिएका छन् । साथै, सीमा स्तम्भ र दशगजा क्षेत्रको सुरक्षामा चौबीसै घण्टा निगरानी राख्न तथा खुला सीमाको दुरुपयोग गरी हुन सक्ने अवैध ओसारपसार नियन्त्रण गर्नसमेत उनले जोड दिएका छन् ।

सुनसरीको संवेदनशील दक्षिणी क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका सकल दर्जालाई निर्देशन दिँदै बाहिनीपति थापाले संगठनको गरिमा र मर्यादा सधैँ उच्च राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । फौजी अनुशासन र परम्परालाई आत्मसात् गर्दै उच्च मनोबलका साथ कर्तव्यमा खटिन निर्देशन दिँदै उनले सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा कुनै किसिमको सम्झौता र मोलाहिजा नगर्न स्पष्ट पारे ।

कर्तव्य निर्वाहका क्रममा अनुशासन उल्लङ्घन गरी गलत कार्यमा संलग्न हुने जोकोहीलाई कारबाही हुने चेतावनी दिँदै उनले त्यस्ता गतिविधिमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए । यसअघि शुक्रबार मोरङका विभिन्न सीमा नाकाको अनुगमन गरेका डीआईजी थापाले आफ्नो निरीक्षण तथा निर्देशनको क्रमलाई निरन्तरता दिँदै शनिबार सुनसरीका विभिन्न नाका पुगेका हुन् ।

चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने सम्भावित अवैध गतिविधि नियन्त्रण गर्नुका साथै सर्वसाधारणको आवतजावत सहज बनाउने र सुरक्षाकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले डिआईजी थापाले सीमा काे  निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार