नेभिगेशन
राजनिती

सदनमा हर्क साम्पाङका तीन प्रमुख एजेण्डा : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एमसीसी खारेजीसम्मका माग

धरान । प्रतिनिधि सभा सदस्य हर्कराज राई साम्पाङले बिहीबार बसेको पहिलो प्रतिनिधि सभाको बैठकमा आफ्ना तीन प्रमुख एजेण्डाहरू प्रस्तुत गरेका छन् । उनले राजनीतिक, आर्थिक र राष्ट्रिय सुरक्षाका विषयमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेका छन् । 

राजनीतिक र प्रशासनिक सुधार

राजनीतिक स्थिरता र पारदर्शिताका लागि साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने माग गरेका छन् । उनले 'जनताबाट प्रत्यक्ष निर्वाचित स्थिर र जवाफदेही सरकार' आजको आवश्यकता रहेको उल्लेख गरे । यस्तै मन्त्री र सांसदहरूको सम्पत्ति जाँच गरी पूर्ण पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन् । 

उनले सदनले समयको कदर गर्नुपर्ने बताए । संसद् बैठक समयमै सञ्चालन गर्ने र ढिलासुस्ती अन्त्य गरी प्रभावकारी छलफल गर्नुपर्ने माग राखेका छन् । 


आर्थिक र शैक्षिक रूपान्तरण

देशको आर्थिक अवस्था सुधार्नका लागि साम्पाङले 'उत्पादनमुखी शिक्षा' मा जोड दिएका छन् । उनले व्यावहारिक शिक्षाका लागि हप्तामा ३ दिन सैद्धान्तिक पढाइ र ३ दिन अनिवार्य सीपमूलक कामको व्यवस्था गर्नुपर्ने उल्लेख गरे । एक घर, एक रोजगार अभियान सुरु गर्नुपर्ने बताउँदै उनले प्रत्येक परिवारलाई एक उद्यम वा रोजगारको ग्यारेन्टी गर्ने नीति लिनुपर्ने बताए । सुकुम्बासी व्यवस्थापनका लागि सुकुम्बासीको पहिचान गरी उनीहरूलाई जमिन र स्थायी आवासको पूर्ण व्यवस्था गर्नुपर्ने सदनसमक्ष साम्पाङले माग गरेका छन् । 


राष्ट्रिय स्वाधीनता र सुरक्षा

साम्पाङले राष्ट्रिय हित र सीमा सुरक्षाका विषयलाई निकै प्राथमिकताका साथ उठाएका छन् । उनले प्रस्तुत गरेको तेस्रो एजेण्डामा सीमा सुरक्षा एमसीसी खारेजी र राष्ट्रिय हित विपरीतका सन्धिहरूको पुनरावलोकन गरिनुपर्ने माग राखेका छन् । 

साम्पाङले नेपालको सीमामा कडा सुरक्षा र नेपाली सेनाको क्षमता सुदृढीकरण गर्नुपर्ने उल्लेख गरेका छन् । देशको स्वाधीनता, सार्वभौमिकता र हितको अडिग रक्षा गर्नु पर्ने साम्पाङको माग छ ।

प्रतिनिधिसभाको आगामी बैठकमा यी मुद्दाहरूलाई सशक्त रूपमा उठाउने तयारीका साथ साम्पाङले यो मार्गचित्र सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती