नेभिगेशन
समाचार

नेचर थिएटर 'खोर्साने खाप' ओझेलमा 

सुनसरी ।  पूर्वी नेपालको मुख्य शहर हो इटहरी । इटहरीले व्यापारिक विस्तारमा तीव्रता लिइरहेको छ । यद्यपि इटहरी शहरमात्र होइन । यसको ग्रामीण क्षेत्रको पर्यटकीय महत्त्व पनि उत्तिकै छ । खोर्साने खाप इटहरीको ग्रामीण क्षेत्रमा पर्ने पर्यटकीय स्थल हो ।  झण्डै ६५ घरधुरी रहेको यो बस्ती ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हरियाली वन,चराचुरुङ्गीको चिरबिर र ग्रामीण जीवनशैली यहाँका मुख्य आकर्षण हुन् ।

एकताका इटहरीको नाट्य संस्था कलालय ले ‘नेचर थिएटर’ सञ्चालन गरेको खोर्साने खाप आजभोलि ओझेलमा छ । तीनतिर खोलानालाले घेरिएको अर्धटापु जस्तो भौगोलिक बनावट रहेको खोर्साने खाप पूर्वमा बुढीखोला, पश्चिममा सेरा खोला र दक्षिणमा दुवै खोलाको दोभानले घेरिएको छ भने उत्तरतर्फ सरस्वती सामुदायिक वन क्षेत्र फैलिएको छ । 

इटहरी उपमहानगरपालिका–३ स्थित ‘खोर्साने खाप’ प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको गुनासो बढेको छ । कुनै समय सेवा सुविधा विस्तारसँगै चर्चामा आएको र इटहरीको पर्यटकीय स्थल अहिले भने ओझेलमा परेको स्थानीय ६६ वर्षीय रत्नकुमारी राई बताउँछिन् ।

इटहरी बजारलाई खोर्साने खापसँग जोड्न बाधक बनेको खोलामा प्रदेश सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माण भयो । बस्तीमा विद्युत् विस्तार पनि भयो । विकासका लागि केही काम भए पनि यहाँको अपेक्षाअनुसार पर्यटनको विकास  हुन सकेन । २०७० सालतिर तीनवटा होमस्टे सञ्चालनमा ल्याइएको थियो । 

रत्नकुमारी २०५१ सालमा धनकुटाबाट बसाइँ सरी यहाँ आइन् ।  उनका अनुसार पहिले जंगलका प्राय हरेक रुखको फेदमा खोर्सानीका बोट पाइन्थे । खोर्सानीकै प्रचुरताका कारण यस स्थानको नाम ‘खोर्साने खाप’ रहन गयो । 'जंगलभरि खोर्सानी पाइन्थ्यो, किन्नु पर्दैनथ्यो,' रत्नकुमारी भन्छिन्, 'अहिले पनि खोर्सानी पाइन्छ तर पहिले जस्तो प्रशस्त भेटिंदैन ।'  

Khorsane-Khap-btvnepal-1775206450.jpeg


'पहिले जंगलमा पाइने जिरे खोर्सानी बिक्री गरेर आम्दानी गरिन्थ्यो । खोर्सानी टिपेर ल्याएर बिक्री गर्दा पैसा आउँछ भन्ने थाहा थिएन । अहिले भने पहिले जस्तो प्रशस्त रुपमा पाइँदैन तर अहिलेसम्म खोर्सानी किन्न परेको छैन जङ्गलमा खोज्न जाँदा घरमा खानको लागि पुग्ने जति पाइन्छ ।' रत्नकुमारी भन्छिन् ।

स्थानीयवासी मिलेर केही वर्ष होमस्टे सञ्चालन गरे । तर प्रचारप्रसार अभाव र पर्यटकको कमीका कारण बन्द भए । अहिले रत्नकुमारी जस्ता गाउँका उद्यमि घरमै बसेका छन् । तर पनि इलम छाडेका छैनन् । उनी धागोबाट झोला बुनेर बिक्री गर्छिन् । उनले बुनेका झोला झोला ८ सयदेखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

वन क्षेत्र नजिकै ठूलो समूहले एकैपटक पिकनिक गर्न सक्ने खुला चौरी र त्यसैको छेउमा रहेको पोखरी संरक्षण अभावमा जीर्ण बन्दै गएको  छ ।

इटहरी १ का समोदकुमार शाहका अनुसार खोर्साने खाप पर्यटकीय रूपमा अत्यन्त सम्भावना बोकेको क्षेत्र हो । तर आवश्यक पूर्वाधार र संरक्षण अभावमा पछाडि परेको छ । 'जीर्ण संरचनाको संरक्षण र पुनर्निर्माण गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ,' उनले भने, 'यसका लागि तीनै तहका सरकारले समन्वय गरी लगानी गर्न आवश्यक छ ।'

स्थानीय खगेन्द्र राईका अनुसार करिब एक दशकअघि यहाँ दैनिक रूपमा विराटनगर, धरान, इटहरी, उदयपुर र झापाबाट सयौँ पर्यटक आउने गर्थे । पर्यटक लक्षित होमस्टे, स्थानीय मिलेर बनाइएका खोर्सानीबाट निर्माण गरिएको प्रवेशद्वार, काठको रोटेपिङ तथा खोर्सानीको प्रतीक चिह्न यहाँका मुख्य आकर्षण थिए ।

बजेट अभावका कारण संरचनाहरू संरक्षण गर्न सकिएन, बिस्तारै सबै हराउँदै गएको उनले बताए । अहिले त पर्यटक आउनै छाडेका छन् । उनका अनुसार बजेट व्यवस्थापन गरी प्रवेशद्वार पुनर्निर्माण, पोखरी संरक्षण तथा आधारभूत पूर्वाधार विकास गर्न सके क्षेत्रलाई पुनर्जीवित गर्न सकिन्छ ।

यस क्षेत्रमा खानेपानीलगायत आधारभूत आवश्यकताकै अभाव छ । कृषि उत्पादनको सम्भावना रहेकाले पर्यटनसँग जोडेर आम्दानी वृद्धि गर्न सकिने स्थानीयको विश्वास छ । पर्याप्त पूर्वाधार, संरक्षण र प्रभावकारी प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको खोर्साने खापलाई पुन:स्थापित गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार