नेभिगेशन
समाचार

चैत २५ गतेदेखि तीन दिने कोशी पर्यटन महोत्सव हुने, विदेशी पर्यटकमार्फत कोशी किनारको पर्यटन प्रवर्द्धन गरिने

वराहक्षेत्र (सुनसरी) । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसर पारेर सुनसरीको वराहक्षेत्रमा 'कोशी पर्यटन महोत्सव–२०८२' आयोजना हुने भएको छ । 

आयोजक समितिले वराहक्षेत्रको ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी र कार्यतालिका सार्वजनिक गरेको हो।

महोत्सवको मुख्य उद्देश्य कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्ने, स्थानीय धार्मिक तथा सांस्कृतिक क्षेत्रको चिनारी दिने र लोपोन्मुख कला संस्कृतिको प्रबर्द्धन  गर्नु रहेको आयोजकले जनाएको छ ।

तीन दिने विशेष कार्यतालिका

महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकका लागि विशेष 'आतिथ्यता शेड्युल' तय गरिएको छ ।

चैत २५ गते महोत्सवको भव्य उद्घाटनसँगै अपराह्न ३ बजे पर्यटकहरूको स्वागत गरिनेछ । साँझ ६ बजे साकेला र झाँगड जस्ता मौलिक सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन गरिनेछ ।

चैत २६ गते बिहान कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, हात्ती र चरा अवलोकनको कार्यक्रम छ। दिउँसो रामधुनी मन्दिरको दर्शनपछि बेलुका ४ बजे बोराबाँधमा सूर्यास्तको दृश्यावलोकन गराइनेछ। साँझ लाखे र धान नाचको प्रस्तुति रहनेछ।

चैत २७ गते बिहान ७ बजे प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरको दर्शन गराई १० बजे त्यहाँबाट बोराबाँधसम्म र्‍याफ्टिङ (जलयात्रा) गराइनेछ। दिउँसो जेट बोट, एटिबी राइडिङ र नौका सयरको मजा लिन पाइनेछ भने अपराह्न ३ बजेदेखि बिच स्पोर्ट्स (बगर खेलकुद) आयोजना हुनेछ ।

रैथाने स्वाद र अन्तर्राष्ट्रिय सहभागिता

महोत्सवमा पर्यटन क्षेत्रसँग सरोकार राख्ने भारत र तेस्रो मुलुकका करिब १५० जना विशिष्ट अतिथि तथा पर्यटकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। आगन्तुकहरूका लागि खाना र खाजामा स्थानीय जातीय र रैथाने परिकारहरूको स्वाद पस्कने विशेष व्यवस्था मिलाइएको छ।

पर्यटन प्रवर्धनमा जोड

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक अङ्गत राईको सभापतित्व रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेश भ्रमण वर्ष–२०८२ का सहसंयोजक भविश श्रेष्ठले यस महोत्सवले प्रदेशकै पर्यटनमा इँटा थप्ने विश्वास व्यक्त गरे । उनले कोशी नदी किनारको पर्यटनको सम्भावना उजागर गर्दै प्रवर्द्धन गरिने बतए । त्यस्तै, पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले कोशी किनारको पर्यटकीय सम्भावनालाई विश्व बजारमा पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै वराहक्षेत्र र कोशी किनारलाई एक उत्कृष्ट 'रिभर टुरिजम' हबका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार