नेभिगेशन
समाचार

वसन्तपुरमा वैशाख १० देखि 'लालीगुराँस महोत्सव' हुँदै : साहित्य, संस्कृति र प्रकृतिलाई जोड्ने

धरान ।  प्रकृति र संस्कृतिको अनुपम संगम मानिने तेह्रथुमको लालीगुराँस नगरपालिकामा आगामी वैशाख १० देखि १४ गतेसम्म 'लालीगुराँस महोत्सव' आयोजना हुने भएको छ । 

'प्रकृति, संस्कृति र पहिचानको संगम' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सवले विशेष गरी लालीगुराँस ट्रेल र स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।

कोशी प्रदेश सरकार र लालीगुराँस नगरपालिकाको संयुक्त आयोजनामा हुने यस महोत्सवमा पर्यटकीय आकर्षणका साथै बहुआयामिक विशेषताहरू समेटिएको आयोजकको भनाइ छ ।

महोत्सवका अवसरमा वैशाख १२ गते बसन्तपुरस्थित चोःलुङ पार्कमा चोःलुङ कविता गोष्ठीको दोस्रो संस्करण आयोजना गरिनेछ । कवि उपेन्द्र सुब्बा लगायत देशका प्रख्यात कविहरूले आफ्ना रचना प्रस्तुत गर्ने बताइएको छ ।

आयोजकका अनुसार महोत्सवमा स्थानीय पहिचान झल्कने विभिन्न जातजातिका सांस्कृतिक नृत्य र साङ्गीतिक कार्यक्रम आयोजना हुनेछन् । यस्तै स्थानीय स्तरमा उत्पादित सामग्रीहरूको प्रदर्शनीका साथै आगन्तुकहरूले रैथाने खाद्य परिकारहरूको विशिष्ट स्वाद लिन पाउनेछन् ।

लालीगुराँसको संरक्षण र वातावरणीय मुद्दाहरूमा केन्द्रित रहेर 'प्रकृति संवाद' कार्यक्रम समेत सञ्चालन गरिनेछ । खेलकुद प्रेमीहरूका लागि लालीगुराँस ट्रेलमा दौड प्रतियोगिताको समेत व्यवस्था गरिएको छ, जसले साहसिक पर्यटनको अनुभव दिलाउने आयोजकको विश्वास छ ।

कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको यो महोत्सवले 'ट्रेल बेस्ड टुरिजम' (पदयात्रामा आधारित पर्यटन) लाई मुख्य प्राथमिकतामा राखेको छ । लालीगुराँस फुलेर ढकमक्क हुने यस मौसममा आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रको भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको छ ।


नगरपालिकाले यस महोत्सवमार्फत स्थानीय कला, साहित्य र प्राकृतिक सम्पदाको विश्वव्यापी प्रचार हुने अपेक्षा राख्दै सम्पूर्ण सरोकारवालाहरूलाई सहभागिताका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार