नेभिगेशन
राजनिती

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने 

धरान । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने घोषणा गरेको छ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै साम्पाङले आफ्नो पार्टीका तर्फबाट महिला उम्मेदवार खडा गर्ने जानकारी दिएका हुन्। सभामुख निर्विरोध चयन भइसकेको अवस्थामा अब हुने उपसभामुखको निर्वाचनमा आफ्नो पार्टीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनले संकेत गरेका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, "सभामुख निर्विरोध चयन हुनुभएकोमा बधाई दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदैछ! हामी महिला उम्मेदवार खडा गर्दैछौँ!"
'
साम्पाङले उपसभामुखको निर्वाचनलाई संसद्मा रहेका नयाँ र पुराना शक्तिहरूबीचको परीक्षणका रूपमा समेत प्रस्तुत गरेका छन्। उनले संसद्मा रहेका नयाँ भनिएका दलहरूले कसलाई समर्थन गर्छन् भन्ने विषयमा चासो व्यक्त गरेका छन्।

उनले अगाडि लेखेका छन्, "हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९?" यो प्रश्नमार्फत उनले संसद्मा रहेका अन्य नयाँ दल र स्वतन्त्र सांसदहरूको मत आफ्नो उम्मेदवारको पक्षमा आउँछ वा ठूला दलहरूको गठबन्धनतिर जान्छ भन्ने कुरालाई मुख्य मुद्दा बनाएका छन्।

साम्पाङको यो घोषणासँगै उपसभामुखको निर्वाचनमा केही रोचक प्रतिस्पर्धा हुने देखिएको छ, विशेषगरी साना र नयाँ शक्तिहरूको एकता कस्तो रहला भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती