नेभिगेशन
राजनिती

सुदन किरातीद्वारा प्रलोपा परित्याग, फेसबुकबाट दिए जानकारी 

धरान । माओवादी आन्दोलन र सशस्त्र संघर्षबाट उदाएका नेता सुदन किराँतीले  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराएका छन् । 

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चाका बीच पूर्वमन्त्री किरातीले प्रलोपा छाडेका हुन् । माओवादी केन्द्रको एकीकरण अभियान 'नेपाली कम्युनिस्ट पार्टी' मा नगएर उनी जनार्दन शर्मासँगै  विद्रोह गरेर छुट्टिएका थिए । २०८२ कात्तिक १९ गते १० घटकबीच एकता भएपछि किरातीले समेत विद्रोह गरेका थिए । 

२०८२ कात्तिक २८ मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियान, नेपाल, सन्तोष परियार नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र जेनजी आन्दोलनकी अगुवा ओजस्वी भट्टराईलगायतको समूह एकीकृत भएर प्रलोपा निर्माण भएको थियो ।  प्रलोपाको अध्यक्ष परिषदको सदस्य रहेका किरातीले एकताको पाँच महिनामै पार्टी छाडेका छन् ।   

फेसबुकमा उनले लेखेका छन्- 'यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।'

केही दिनअघि श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुदन किरातीलाई पार्टीमा भित्र्याउने आशयको अभिव्यक्ति दिएका थिए । किरातीले फेसबुकमा लेखेका छन्-'जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु । मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनिती