नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

धरान । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले 'नैतिकता र जनविश्वास' लाई मुख्य आधार मानेर पद त्याग गरेको घोषणा गरेका हुन् ।

विगत केही दिनदेखि सार्वजनिक स्तरमा उनको सेयर लगानी र व्यावसायिक सम्बन्धलाई लिएर प्रश्नहरू उठ्दै आएका थिए । विशेषगरी विवादास्पद व्यवसायीसँगको साझेदारी र केही लघु बिमा कम्पनीहरूमा रहेको उनको लगानीका विषयमा सञ्चारमाध्यम र नागरिक स्तरबाट चर्को आलोचना भएको थियो ।
फेसबुक स्टाटसमा राजिनामा लेख्दै गुरुङले भनेका छन्, 'म संलग्न विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टेरेस्ट) नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।' 

२०८२ चैत १३ गते गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले २६ दिनमा राजीनामा दिँदै गर्फा जेनजी आन्दोलनलाई स्मरण गरेका छन्। उनले सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको उक्त आन्दोलनको सन्देशलाई सम्मान गर्दै नेतृत्व उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। ४६ जना 'शहीद'हरूको बलिदानबाट बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकता हुनुपर्ने उनको तर्क छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मन्त्रिमण्डलमा प्रभावशाली मन्त्रीका रूपमा हेरिएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। सुरुवाती दिनमा 'ठूला माछा' समात्ने भन्दै आक्रामक देखिएका गुरुङ आफ्नै व्यावसायिक पारदर्शितामाथि प्रश्न उठेपछि चौतर्फी दबाबमा परेका थिए। उनले आफ्नो वक्तव्यको अन्त्यमा देश, सुरक्षा फौजको सम्मान र नेपालका युवाहरूका लागि यो कदम चालेको उल्लेख गरेका छन्।

गुरुङले आफूमाथि निष्पक्ष छानबिन हुनुपर्ने समेत बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति