नेभिगेशन
राजनिती

धरान-२ मा रास्वपाको तदर्थ समिति गठन, संयोजकमा प्रतीक श्रेष्ठ चयन 

धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले धरान-२ नम्बर वडामा तदर्थ समिति गठन गरेको छ ।

मंगलबार गठित तीन सदस्य तदर्थ समितिको संयोजकमा प्रतीक श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा उज्ज्वल कार्की र सदस्यमा पर्वत श्रेष्ठ चयन भएका छन् ।

हाल तदर्थ समिति निर्माण गरिएको र तदर्थ समितिले वडाको अधिवेशन गरी पूर्ण समिति निर्माण गर्ने रास्वपाका धरान नगर सभापति सुमन श्रेष्ठले जानकारी दिए ।  

धरानमा रास्वपाको संगठन विस्तार, युवा सहभागिता वृद्धि तथा सदस्य संख्या विस्तार गर्दै पार्टीलाई थप सशक्त बनाउने लक्ष्यसहित अघि बढ्ने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा रास्वपाकी कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ सरिनले धरानको समग्र विकासका लागि पार्टी निरन्तर सक्रिय रहने बताए । उनले विशेषगरी शिक्षा, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिने स्पष्ट पारे । उनले जनताको आवश्यकता र मागअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै हाल सुकुम्बासी बस्ती हटाउने विषयमा देखिएको विवादप्रति पनि धारणा राखे ।

सुकुम्बासी बस्ती हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय नागरिकको सुरक्षा र सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद् न्यूनीकरणका लागि भएको उनको दाबी छ । सामाजिक सञ्जालमा देखिएका आलोचना र नकारात्मक प्रतिक्रियाहरू क्षणिक आवेगका कारण आएको उल्लेख गर्दै सरिनले दीर्घकालीन रूपमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । 

त्यस्तै, कोशी प्रदेश सभापति राजेशमान श्रेष्ठले पार्टीका सदस्यहरूलाई संगठनात्मक अनुशासनमा रही जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सशक्त राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र युवा नेतृत्व विकासमा पार्टी केन्द्रित रहेको बताए ।


उनले विगतमा नेकपा एमालेको संगठन बलियो रहेकाले चुनावमा सफलता हासिल गर्दै आएको भए पनि धरानमा अपेक्षित ठूला विकास योजना ल्याउन नसकेको टिप्पणी गरे । अब नयाँ पुस्ताले नयाँ नेतृत्व रोजेको भन्दै रास्वपाले शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा निरन्तर आवाज उठाउँदै विकासका योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

आयोजित भेलामा युवा तथा जेन–जी पुस्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती