नेभिगेशन
राजनिती

'लिपुलेक' का विषयमा नेपालको दाबी तथ्यहीन भएको भारतको जिकिर

धरान । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा भारतले आफ्नै पक्षमा दाबी गर्दै उत्तर दिएको छ ।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाली भूमि लिपुलेक क्षेत्रका सम्बन्धमा नेपालको दाबी नै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । 

नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा सीमा विवादबारे उठाएका जिज्ञासाहरूको जवाफ दिँदै प्रवक्ता जैसवालले भारतको अडान यस विषयमा स्पष्ट र सुसंगत रहेको उल्लेख गरे । 

उनले लिपुलेक भन्ज्याङ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राको लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यो कुनै नयाँ घटनाक्रम नभएको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा क्षेत्रीय दाबीका सम्बन्धमा बोल्दै जैसवालले नेपालका यस्ता दाबीहरू न त न्यायोचित छन्, न त ऐतिहासिक प्रमाणले नै पुष्टि गर्छन् भनी टिप्पणी गरेका छन् । यस्तो एकपक्षीय र कृत्रिम रूपमा गरिएको क्षेत्रीय दाबीको विस्तार अमान्य हुने भारतको ठहर छ । 

यद्यपि, भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा नेपालसँग रचनात्मक संवादका लागि आफू सधैँ खुला रहेको बताएको छ । सीमासम्बन्धी बाँकी रहेका विवादहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत तयार रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतले सीमा क्षेत्रमा नेपाली भूमि मिच्दै आएको छ । नेपाली भूमि लिपुलेकमा समेत आफ्नो भएको भारतको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती