नेभिगेशन
राजनिती

श्रम संस्कृति पार्टीको कोशी प्रदेश तदर्थ समिति गठन, प्रताप राई अध्यक्ष चयन

धरान । हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा प्रताप राईको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी चयन गरिएको हो ।

पार्टीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट भूगोल, जातीयता तथा लैङ्गिक समावेशितालाई आधार बनाएर पदाधिकारी चयन गरेको जनाएको छ । प्रारम्भिक रूपमा नाम सिफारिस भए पनि केही सदस्यहरूले असन्तुष्टि जनाएपछि अध्यक्ष पदका लागि मतदान गरिएको थियो । मतदानमा खोटाङका प्रताप राई ६ मतको अग्रतासहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

तदर्थ समितिको उपाध्यक्षमा सुनसरीकी प्रतिभा शेख अन्सारी, सुनसरीकै एनके राई, मोरङकी दुर्गा पोख्रेल र इलामका राजेश दुलाल चयन भएका छन् । सचिवमा झापाका दीपक तिम्सिना चयन हुँदा सहसचिवमा सुनसरीका नवीन राई, भोजपुरकी इन्दिरा राई तथा ओखलढुंगाका मनोज जिमी चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा पाँचथरका प्रमाण राई, सह–कोषाध्यक्षमा धनकुटाकी महिनी छिलिङ राई, सहसचिवमा उदयपुरकी शीतल राई, प्रवक्तामा तेह्रथुमका अविनाश लिम्बू तथा सहप्रवक्तामा ताप्लेजुङका अमर लुहान चयन भएका छन् ।

पदाधिकारीसहित कुल १३३ सदस्यीय कार्यसमिति चयन गरिएको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले नवनिर्वाचित पदाधिकारीलाई माटोको कसम खुवाउँदै शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै साम्पाङले देश र जनताको हितलाई केन्द्रमा राखेर नि:स्वार्थ भावनाले काम गर्न आग्रह गरे। उनले 'देशप्रेम, श्रम र सेवाको भावना बोकेर अघि बढ्नुपर्ने' भन्दै पदको ठूलो–सानो नभनी सबैलाई श्रमदाता ठानेर काम गर्न सुझाव दिए ।

विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति प्रवेश 

कार्यक्रममा विभिन्न दल परित्याग गरी नयाँ सदस्यहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट ६१ जना, नेपाली कांग्रेसबाट ३ जना तथा नेकपा एमालेसहित अन्य दलबाट आएका सदस्यहरू पार्टीमा प्रवेश गरेको जानकारी दिइयो ।

यस क्रममा अध्यक्ष राईले श्रम संस्कृति पार्टी गरिब, सुकुम्बासी तथा श्रमिक वर्गको पक्षमा काम गर्ने पार्टी भएको बताए । उनले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने लक्ष्य भए पनि जिल्लाबाट कम महिला प्रतिनिधित्व आएको उल्लेख गर्दै आगामी दिनमा महिलाको सहभागिता बढाउने गरी संगठन विस्तार गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष साम्पाङले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिका विषयमा आलोचना गरे । उनले सुकुम्बासी तथा जनताका समस्यासम्बन्धी प्रश्नको उत्तर दिन नसक्ने भएकाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको आरोप लगाए । प्रधानमन्त्री संसद्मा आउन नचाहे आफूले भाडासमेत तिर्न तयार रहेको भन्दै उनले व्यंग्य गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती