नेभिगेशन
राजनीति

कोशी प्रदेश सांसद विजयकुमार राईको प्रश्न- किरात राई यायोक्खा कुनै पार्टीको भातृ संगठन भएको हो ?

धरान । धरान-१७ स्थित साकेला पार्कमा शनिबार किरात राई समुदायको प्रतियोगितात्मक साकेला शिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भयो । प्रमुख अतिथि थिए- धरानका निवर्तमान मेयर, सुनसरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ । विशिष्ट अतिथि पनि श्रम संस्कृति पार्टीकै वरिष्ठ नेता सुदन किराँती, अर्का विशिष्ट अतिथि धरानका पूर्व मेयर तथा किरात राई यायोक्खाका पूर्वअध्यक्ष तिलक राई, मन्चमा सामाजिक संघ संस्थाका प्रतिनिधि र जनप्रतिनिधि देखिए तर धरानबाटै निर्वाचित प्रदेश सांसदहरू देखिएनन् ।

प्रदेश सांसदहरू नदेखिनुको कारण थियो- निमन्त्रणा नहुनु । 

कोशी प्रदेशका सांसद विजयकुमार राईले सामाजिक सन्जालमा निमन्त्रणा नगरिएको आशय व्यक्त गर्दै शनिबार राति स्टाटस लेखे- किरात राई कुनै पार्टीको भातृ संगठन भएको हो ? उनले पुनः केही मिनेटपछि अर्को स्टाटस लेखे- किरात राई यायोखा (यायोक्खा) भन्ने संस्था कुनै दलको भातृ संगठन हो ? 

प्रदेश सांसद विजयकुमार राईको अभिव्यक्ति गम्भीर रहेको सामाजिक सन्जालमै टिप्पणी भइरहेको छ । र, किरात राई समुदायकै प्रदेश सांसदलाई वहिष्करणमा पार्ने प्रवृत्तिलाई दु:खद भनिएको छ । सांसद राईका स्वकीय सचिव मणि राईले 'प्रदेश माननीय' लाई निमन्त्रणा नगरिएको पुष्टि गरे । उनले यो प्रवृत्ति यसपटक मात्र नभएर विगत वर्षदेखि नै हुँदै आएको बताए । सुनसरी निर्वाचन क्षेत्रका 'क' र 'ख' दुवै प्रदेश सभाबाट नेकपा एमालेका निर्वाचित सांसद छन् ।

सामाजिक सन्जालमा आएको सांसद राईकै स्टाटसमा एक प्रयोगकर्ताले खबरदारी गर्दै टिप्पणी गरेका छन्- 'पार्टीको दले झुन्ड मुन्डहरु हो किरात राई यायोक्खा जस्तो पवित्र राईहरुको संगठनलाई कुनै राजनीतिक दल पार्टी संगठन अन्तरगत नहेरियोस खबरदार !'

अर्की एक प्रयोगकर्ताले लेखेकी छन्- 'आज कसैकसैले बोलेको सुन्दा त्यस्तै बुझिन्छ तर त्यसो होइन त्यो कार्यक्रमको मर्म र गरिमाको बारे अज्ञानताले गर्दा हो ।' 

कोशी प्रदेशका सांसदलाई किरात राई यायोक्खाका कार्यक्रममा आमन्त्रण नगरिनु कोशी प्रदेशको नामकरणको विषय र पहिचानवादीको आन्दोलन र विवादसँग जोडिन पुग्छ । किरायाले विगतका वर्षहरूदेखि नै यस क्षेत्रका प्रदेश सांसदलाई 'बोयकट' गर्दै आएको छ । 

बिटिभीनेपालले प्रदेश सांसद राईको सचिवालयलाई प्रश्न गर्‍यो- प्रदेश सांसद विजयकुमार राईले किरात राई समुदायका लागि केही ठोस काम र पहल गरेनन् ? सांसद राईका सचिवालय सदस्यले सुनसरी-१ को प्रदेश सभा 'ख'का लागि मनग्गे काम भएको बताए । उनले भौतिक निर्माणसँगै समुदायका लागि समेत काम गरिएको बताए । 

'माननीयज्यूको पहलमा अघिल्ला वर्ष पनि धेरै काम भएका उदाहरण छन्, अहिले कार्यान्वयन भएका समुदायकै लागि गरिएका योजना पनि छन् ।' प्रदेश सांसद राईका स्वकीय सचिव मणि राईले भने । उनका अनुसार सांसद राईको पहलमा हाल कार्यान्वयनका चरणमा रहेका योजनाहरू हेर्नुहोस् : 

१. किरात जातिको धार्मिक सांस्कृतिक साकेला पार्क, वराहक्षेत्र - १ ( विनियोजन रकम रु ७लाख ) 
२. सुनुवार सांस्कृतिक भवन निर्माण धरान ११ ( रु १० लाख)
३. बिचपानी साकेला थान मर्मत तथा घेराबेरा बराहक्षेत्र-३ ( रु ७ लाख)
४. किरात राई यायोख्खा जिकास सुनसरी धरानको भवन स्तरोन्नति ( रु २५ लाख)
५. किरात राई चाम्लिङ लिपुहोछा सेवा समाजको भवन धरान १७ ( रु १० लाख) 
६. भवानी थान मन्दिर सूर्यकुण्ड लालकोट गढी बराहक्षेत्र- १ ( रु ७ लाख)
७. स्वारा भवानी थान मन्दिर घेराबेरा धरान-२०  ( रु ७ लाख) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति