नेभिगेशन
राजनीति

सदनमा क्षितिज थेबेको प्रश्न- ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) मन्दिरका विषयमा सरकारको आधिकारिक धारणा के हो ?

धरान । नेकपा एमालेका तर्फबाट ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लु्ङ) मन्दिरका विषयमा सरकारको आधिकारिक धारणा माग गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा मंगलबार सांसद थेबेले ताप्लेजुङका जनतामा पाथीभरा केबलकारका विषयमा अन्योलता रहेको उल्लेख गर्दै आयोजना बन्ने हो वा होइन सरकारको धारणा सार्वजनिक हुनु्पर्ने माग राखे । उनले भने, 'यो आयोजना बन्ने हो कि रोकिने हो ? आज ताप्लेजुङका जनतामा गहिरो अन्योल छ । एकातिर विरोधका कार्यक्रम सार्वजनिक भएका छन् । अर्कोतर्फ विकास, पर्यटन, रोजगारी र पूर्वाधारका दृष्टिले आयोजना अनिवार्य बन्नु्पर्छ भन्ने माग गरिरहेका छन् ।'

सांसद थेबेले पाथीभरा केबलकारको विषय संवेदनशील भएकाले सरकार मौन बस्न नहुने बताए ।  'यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न मिल्दैन । म सरकारसँग स्पष्ट जवाफ माग्न चाहान्छु । के केबलकार स्थायी रुपमा रोकिएको हो ? कि होइन ? स्थानीय समुदाय, धार्मिक आस्था, सांस्कृतिक विषय र विकासका बीच सन्तुलन कायम गर्न सरकारको ठोस योजना के छ ?' 

सांसद थेबेले ताप्लेजुङका जनतालाई अफवाह होइन आधिकारिक जानकारी चाहिएको बताए । 'मौखिक आदेश होइन स्पष्ट आधिकारिक धारणा चाहिएको छ ? सबै पक्षबीच विश्वासको वातावरण बनाइ अगाडि बढोस्, सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति