नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

प्रदेशको प्राथमिकता र सम्भावनालाई अध्ययन गरेर नीति तथा कार्यक्रम आएको छ - सांसद बस्नेत 

धरान । कोशी प्रदेशको प्राथमिकता र सम्भावनालाई अध्ययन गरेर कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बताएका छन् । 

कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार जारी छलफलमा बोल्दै सांसद बस्नेतले आर्थिक रुपले कोशी प्रदेशलाई कसरी समृद्ध बनाउने भन्ने विषय नीति तथा कार्यक्रममा आएको बताए । उनले पर्यटन, कृषि र उद्योगलाई नीति कार्यक्रमले समेटेको बताए । 

'कोशी प्रदेशवासीको गौरवको विषय कोशी राजमार्ग जुन त्रिदेशीय मार्गको  सबभन्दा छोटो दूरी हो, भर्खरै ब्रेक थ्रु भएको छ कि, संखुवासभाको किमाथांकाबाट चीन जाने नाका खुलिसकेको छ, यद्यपि त्यो कच्ची छ, यसलाई बीआरआईमार्फत् निरन्तरता दिने प्रयत्न गरिएको छ,' प्रदेश सांसद बस्नेतले भने, 'धरान-सेउती सुरुङ मार्ग बन्न हो भने हाम्रो समृद्धिको आधार हुनेछ ।'

सांसद बस्नेतले नीति तथा कार्यक्रममा धेरै कुरा राख्न सकिने बताउँदै राख्नुमात्र ठूलो कुरा नभएको उल्लेख गरे । उनले साधन स्रोत अनुसार नीति तथा कार्यक्रम आएको बताए । संविधानले दिएका अुनसूचीअनुसार, साधनस्रोतअनुसार र प्रदेशका सम्भावना हेरेर ल्याइएकाले नीति तथा कार्यक्रम हरेक हिसाबले ठीक भएको बस्नेतले बताए । उनले नीति तथा कार्यक्रम अनुमोदन गरेर यसैअनुसार बजेट निर्माणका लागि प्रकृया अघि बढाउनु पर्ने बताए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति