नेभिगेशन
राजनीति

सदनमा प्रतिपक्षीको अवरोध, सरकारको कार्यशैलीमा गम्भीर प्रश्न उब्जाएको भन्दै आपत्ति

धरान । प्रतिनिधि सभाको मंगलबार जारी बैठकमा  सरकारको कार्यशैलीमा गम्भीर प्रश्न उब्जाएको भन्दै प्रतिपक्षीहरुले आपत्ति जनाएका छन् । उनीहरुले जनताको माग सम्बोधन गर्न प्रधानमन्त्रीले सदनमा उपस्थित हुनुपर्ने मत राखेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म सदन अगाडि नबढाउने प्रतिपक्षीले अडान राखेका छन् ।    

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक- २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामुख डीपी अर्यालले अनुमति दिएपछि विपक्षी बेन्चका सांसदहरु उठेका थिए ।  

सदनमा नेपाली कांग्रेसकी प्रमुख सचेतक सांसद वासना थापाले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको बताइन् । उनले भनिन्, 'संसद केवल सङ्ख्याको खेल होइन, यो विचार, विमर्श, उत्तरदायित्व र सहमतिको सर्वोच्च लोकतान्त्रिक थलो पनि हो । तर दुर्भाग्यवश सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ । प्रतिपक्षीको अवरोधबीच विधेयकहरु पास गर्दा किन बहुमतको दम्भ देखाउनु भयो ?'

नेकपा एमालेका प्रमुख सचेतक सांसद ऐनबहादुर महरले अपार जनमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख सदनसँग किन तर्सिरहेका छन् भन्दै सदनमा प्रश्न गरेका छन् । सरकारले संविधानको उल्लंघन गरेको सांसद महरले बताए । उनले  सदनलाई सरकारले सम्मान नगरेको उनले बताए । 'सदनमा उठेका गम्भीर प्रकारका प्रश्नको जवाफ संसदमा प्रधानमन्त्रीले दिनुपर्छ ।'


नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले  संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्री केहीबेर मार्त्र भएपनि संसद्मा बोल्नुपर्ने बताए । श्रम संस्कृति पार्टीका तर्फबाट सांसद आरेन राइले सङ्ख्याको दम्भ हो भने त्यो स्थायी नरहने चेतावनी दिए । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिको लागि सत्तारुढ दलले पहल गर्नुपर्ने बताइन् ।

प्रतिपक्षीलाई आफ्ना कुरा राख्न समय दिए पनि सदन अगाडि बढ्न नसकेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग छलफल भएको र उनले सदनमा बोल्ने तयारी गरिरहेको बारे सदनसमक्ष जानकारी गराएका थिए । उनले विपक्षीलाई बारम्बार सदन अगाडि बढाउन अनुरोध गरिरहे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति