नेभिगेशन
राजनीति

सगरमाथा दिवसमा मुख्यमन्त्री कार्कीको शुभकामना : हिमाल संरक्षण र पर्यटन प्रवर्धनमा सामूहिक प्रतिबद्धताको खाँचो 

धरान । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथाको सफल आरोहणले नेपालको पहिचान विश्वभर स्थापित गरेको उल्लेख गर्दै हिमाल संरक्षण र दिगो पर्यटन विकासका लागि सामूहिक प्रतिबद्धताको खाँचो औँल्याएका छन् ।

मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत सन् १९५३ मे २९ (वि.सं. २०१० जेठ १५) मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरी नेपाल र नेपालीको स्वाभिमान उच्च पारेको ऐतिहासिक दिनको स्मरण गरेका छन् । 

उनले हिमाल आरोहणको क्षेत्रमा साहस, समर्पण र कीर्तिमान कायम गर्ने सम्पूर्ण पर्वतारोही, शेर्पा समुदाय, उद्धारकर्मी तथा सहयोगीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा कोशी प्रदेश अवस्थित हुनु प्रदेशवासीका लागि गर्वको विषय भएको बताउँदै मुख्यमन्त्री कार्कीले सगरमाथासँगै यहाँका अनेकौं हिमशृङ्खला, जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले पर्यटन विकासको अथाह सम्भावना बोकेको उल्लेख गरेका छन् । 

उनले पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार, संरक्षण र प्रवर्धनमार्फत कोशी प्रदेश तथा समग्र मुलुककै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै उनले कोशी प्रदेश सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म 'कोशी प्रदेश भ्रमण वर्ष' मनाउने तयारी गरिरहेको जानकारी दिएका छन् । 

यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरी रोजगारी सिर्जना र राष्ट्रिय पूँजी निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन् ।  

यसका साथै, मुख्यमन्त्री कार्कीले जलस्रोत संरक्षण, वातावरणीय सन्तुलन, कृषि प्रणाली र पर्यटन प्रवर्धनमा हिमालको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरेका छन् । 

यद्यपि, जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, हिमनदी सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पन्न हुने जोखिमप्रति उनले सचेत गराएका छन् । 

यस्तो चुनौतीपूर्ण अवस्थामा हिमाल संरक्षण, फोहोर व्यवस्थापन, दिगो पर्यटन विकास तथा पर्वतारोहीहरूको सुरक्षाका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्न कोशी प्रदेश सरकार दृढ संकल्पित रहेको उनले प्रतिबद्धता जनाएका छन् ।  

मुख्यमन्त्री कार्कीले सगरमाथा दिवसले प्रकृति संरक्षण, हिमालप्रतिको जिम्मेवारीबोध, पर्यटन विकास र राष्ट्रिय गौरवको भावनालाई थप सुदृढ बनाउँदै नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति