नेभिगेशन
राजनीति

प्रधानमन्त्रीको 'राष्ट्रघाती अभिव्यक्ति' विरुद्ध धरानमा प्रदर्शन

धरान । प्रधानमन्त्री वालेन्द्र साहले प्रतिनिधि सभाको बैठकमा रोष्ट्रमबाट 'नेपालले पनि भारतको जग्गा मिचेको छ ।' भन्ने अभिव्यक्ति दिएपछि देशभर उनको अभिव्यक्तिको आलोचना भइरहेको छ । 

धरानमा सोमबार प्रधानमन्त्री साहको अभिव्यक्ति विरुद्ध  विरोध र्‍याली आयोजना गरिएको छ भने प्रधानमन्त्रीको तस्बिरमा आगजनी गरिएको छ । 

छाताचोकबाट निस्किएको र्‍यालीले भानुचोकमा आयोजित कोणसभामा प्रधानमन्त्रीको 'राष्ट्रघाती अभिव्यक्ति' विरुद्ध प्रदर्शन गरिएको घोषणा गरेको छ । 'भूमिहीन अव्यवस्थित सुकुम्बासीलाई उठिबास गर्नेको भर नपरौं, देश जोगाउन सबै नेपालीले हातेमालो गरौं ।' भन्ने मूल नाराका साथ बस्ती रक्षा आन्दोलन परिचालन समिति र धरानका राजनीतिक दलले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । 

प्लेकार्डसहितको विरोध प्रदर्शनमा 'राष्ट्रघाती सरकार चाहिंदैन', 'बालेन शाहको गैरजिम्मेवार अभिव्यक्ति मुर्दाबाद', 'उपत्यकामा उठाइएका सुकुम्बासीलाई पुनःस्थापित गर',  'जनताको आशा बालेन सरकारमाथि, बालेनको डोजर गरिबको घरआँगनमा', 'विस्थापित सुकुम्बासीलाई व्यवस्थित गर' लगायतका नारा लगाइएको थियो । 

प्रदर्शनका क्रममा सहभागीले सरकारविरुद्ध नाराबाजी गरे । उनीहरूले सुकुम्बासी बस्तीमा डोजर चलाएर गरिब तथा भूमिहीन नागरिकहरूको उठिबास लगाएको बताए ।

नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले सरकारले सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउने अभियान सञ्चालन गरेको भन्दै आपत्ति जनाए । उनले भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । कार्कीले गरिब जनताको घरबास खोस्ने सरकारलाई नागरिकहरूले नै जवाफ दिने समय आएको समेत बताए ।

नेकपा एमालेका युवा नेता रवि खनालले प्रधानमन्त्रीको तस्बिरमा आगो लगाउँदै विरोध जनाए ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे ।  उनीहरूले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै उक्त भनाइ असत्य रहेको बताए । प्रधानमन्त्रीले सार्वजनिक रूपमा अभिव्यक्ति सच्याउनुपर्ने र माफी माग्नुपर्ने प्रदर्शनकारीले माग गरे ।

उक्त अभिव्यक्तिलाई लिएर संघीय संसदमा समेत विवाद उत्पन्न भएको र विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर माफी माग्न दबाब दिँदै आएका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले राष्ट्रिय हितको रक्षा गर्नुपर्नेमा विदेशी स्वार्थको पक्षपोषण गरेको आरोप लगाउँदै आलोचना गरेका छन्।

धरानका सुकुम्बासी नागरिक, बस्ती रक्षा आन्दोलन समिति तथा विभिन्न राजनीतिक दलहरूले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति